करिब २० दिनको अन्तरमा दुई प्रसूती महिलाको मृत्यु; उपचारमा परिवारको गम्भीर प्रश्न, अस्पताल भन्छ– ‘अटोनिक युटेरस’ र अत्यधिक रक्तस्राव; जिल्ला प्रशासनद्वारा सत्य–तथ्य छानबिनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र
राजकुमार साह
कञ्चनपुर, (सप्तरी ) असोज ७ गते । कञ्चनरुप नगरपालिका–१२, रुपनगरस्थित धर्मेश्वर अस्पतालमा करिब २० दिनको अन्तरमा दुई प्रसूती महिलाको मृत्यु भएपछि अस्पतालको प्रसूती सेवा, आकस्मिक उपचारको तयारी, विशेषज्ञ चिकित्सकको उपलब्धता, रगत तथा आईसीयूको व्यवस्था र सरकारी ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ को कार्यान्वयनमाथि गम्भीर प्रश्न उठेका छन्।

पछिल्लो घटनामा अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ की करिब २८ वर्षीया निर्मला चौधरी, अमितकुमार चौधरीकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको हो।
घटनाबारे परिवारले उपचार प्रक्रियामै गम्भीर कमजोरी भएको आशंका गरेको छ भने अस्पताल प्रशासनले भने प्रसूतीपछि पाठेघर खुम्चिन नसक्ने अवस्था अर्थात् अटोनिक युटेरस का कारण अत्यधिक रक्तस्राव भएको र त्यसकै कारण अवस्था जटिल बनेको बताएको छ।
यद्यपि घटनाको वास्तविकता अहिले नै निष्कर्षमा पुगिसकेको अवस्था छैन। जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत घटनाको सत्य–तथ्य छानबिन गर्न मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरिसकेको छ। निर्मलाको शव पोस्टमार्टमका लागि राजविराज पठाइएको छ भने छानबिनको प्रतिवेदन र पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।
सामान्य अवस्थाबाट सुरु भएको उपचार कसरी गम्भीर बन्यो?
परिवारका अनुसार निर्मला असोज १ गते बिहान करिब ११–१२ बजेतिर प्रसूती व्यथाका कारण धर्मेश्वर अस्पताल पुगेकी थिइन्। अस्पतालले उनको स्वास्थ्य अवस्था जाँच गरी विवरण लिएपछि अवस्था सामान्य रहेको बताएको थियो।
निर्मलाको पहिलो सन्तान पनि सामान्य प्रसूतीबाट जन्मिएको थियो। सोही आधारमा सामान्य प्रसूती हुने अपेक्षामा अस्पतालले उनलाई करिब २४ घण्टा निगरानीमा राखेको परिवारको भनाइ छ।
तर असोज २ गते दिउँसो करिब १२–१ बजेतिर अस्पतालका स्वास्थ्यकर्मीले सामान्य प्रसूती सम्भव नदेखिएको र शल्यक्रिया गर्नुपर्ने जानकारी परिवारलाई दिए।
शल्यक्रिया धर्मेश्वर अस्पतालमै गर्ने कि अन्यत्र लैजाने भन्ने विकल्प परिवारलाई दिइएपछि परिवारले अस्पतालमै शल्यक्रिया गराउने निर्णय गरेको जानकारी दिए।
त्यसपछि करिब २ बजेतिर स्त्रीरोग विशेषज्ञ डा. बसन्त साह अस्पतालमा आएर सिजेरियन शल्यक्रिया गरेका थिए।
शल्यक्रियापछि बच्चा जन्मिएको र परिवारलाई बच्चा सुरक्षित रहेको देखाइएको थियो। निर्मलालाई त्यसपछि वार्डमा सारिएको र डाक्टर साह अस्पतालबाट निकलिसकेको परिवारको भनाइ छ।
तर त्यसको करिब आधा घण्टापछि अस्पतालका स्वास्थ्यकर्मीले निर्मलालाई रगत आवश्यक परेको जानकारी परिवारलाई दिए।
रगत ल्याउन परिवारलाई राजविराज पठाइयो
निर्मलाका बुवा घुरण चौधरीका अनुसार त्यसबेला छोरीको अवस्था कति गम्भीर थियो, कति रक्तस्राव भइरहेको थियो वा तत्काल के गर्नुपर्ने हो भन्नेबारे परिवारलाई स्पष्ट जानकारी दिइएन।
बरु अस्पतालका एक स्वास्थ्यकर्मीलाई साथमा लिएर एम्बुलेन्समार्फत राजविराज गएर रगत ल्याउन भनिएको उनको भनाइ छ।
निर्मलाका काका श्रवणनारायण चौधरी राजविराज गएर करिब डेढदेखि दुई घण्टाको आवतजावतपछि तीन युनिट रगत ल्याएको परिवारले जनाएको छ।
रगत अस्पताल पुगेपछि पनि रक्तस्राव नरोकिएको भन्दै स्वास्थ्यकर्मीले पाठेघर निकाल्नुपर्ने अवस्था आएको जानकारी दिएको परिवारको भनाइ छ।
त्यसपछि परिवारिक सदस्यले निर्मलाका श्रीमान् अमितकुमार चौधरीलाई जानकारी गराइएको थियो। परिवारका अनुसार आमाको ज्यान बचाउन पाठेघर निकाल्नुपर्ने भए त्यसै गर्न उनले सहमति दिएका थिए, किनकि बच्चा सुरक्षित रहेको जानकारी परिवारलाई थियो।
तर धर्मेश्वर अस्पतालले पाठेघर निकाल्ने आवश्यक सेवा तथा व्यवस्था आफूसँग नभएको भन्दै निर्मलालाई राजविराजस्थित छिन्नमस्ता अस्पताल लैजानुपर्ने जानकारी दिएको परिवारको भनाइ छ।
परिवारले निर्मलाको अवस्था एकपटक हेर्न चाहँदा तत्काल देख्न नदिइएको पनि जानकारी परिवारिक सदस्यले गराएको छ।
परिवारलाई अस्पतालतर्फबाट प्रसूतीपछि पाठेघर सामान्य रूपमा खुम्चिनुपर्ने भए पनि निर्मलाको पाठेघर औषधि दिँदासमेत खुम्चिन नसकेको र त्यसकारण पाठेघर निकाल्नुपर्ने अवस्था आएको बताइएको थियो।
धर्मेश्वरबाट राजविराज, त्यसपछि बिराटनगर
अन्ततः असोज २ गते साँझ करिब ६ बजे निर्मलालाई स्वास्थ्यकर्मीको साथमा एम्बुलेन्समार्फत छिन्नमस्ता अस्पताल, राजविराज लगियो।
परिवारका अनुसार राजविराज पुग्दा निर्मला अचेत अवस्थामा थिइन् र रक्तस्राव भइरहेको थियो। छिन्नमस्ता अस्पतालमा केही घण्टापछि पाठेघर निकाल्ने शल्यक्रिया गरिएको थियो।
असोज ३ गते बिहान करिब ४ बजेतिर छिन्नमस्ता अस्पतालले आवश्यक ‘सेतो रगत’ उपलब्ध नभएको भन्दै बिराटनगरस्थित बिराट शिक्षण अस्पताल लैजान सुझाव दिएको परिवारले जानकारी दिए ।
राजविराजबाट बिराटनगर पुग्न डेढदेखि दुई घण्टा लागेको र बिहान करिब ६ बजेतिर बिराटनगर अस्पताल पुगेको परिवारको भनाइ छ।
त्यहाँ निर्मलालाई भर्ना गरी चार युनिट ‘सेतो रगत’ दिइएको र आईसीयूमा राखिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले स्वास्थ्यमा सुधार भइरहेको बताउँदै आएको परिवारले जनाएको छ।
तर असोज ४ गते राति करिब ८ बजेतिर अस्पतालले निर्मलालाई बचाउन नसकिएको जानकारी दिएको परिवारको भनाइ छ।
उपचार खर्च २ लाख ५० हजार रुपैयाँभन्दा बढी पुगेको र रकम भुक्तानी गरेपछि मात्रै शव दिइएको परिवारले जनाएको छ। असोज ५ गते शव लिएर परिवार धर्मेश्वर अस्पताल फर्किएको थियो। परिवारका अनुसार धर्मेश्वर अस्पतालमा समेत उपचारबापत १५ हजार रुपैयाँ जम्मा गरिएको थियो।
निर्मलाका बुवा घुरण चौधरीको भनाइमा, छोरीको वास्तविक अवस्था र उपचारको जोखिमबारे सुरुमै स्पष्ट जानकारी दिइएको भए आफूहरूले धर्मेश्वर अस्पतालमा उपचार गराउने निर्णय नगर्ने थिए।
अस्पताल प्रशासनको फरक व्याख्या
धर्मेश्वर अस्पतालका प्रशासन प्रमुख डा. दिलीप कर्ण भने निर्मला अस्पताल आउँदा सामान्य अवस्थामा रहेको बताउँछन्।
उनका अनुसार निर्मलालाई पहिलो प्रसूती सामान्य भएकाले सामान्य प्रसूती हुने अपेक्षामा करिब २४ घण्टा निगरानीमा राखिएको थियो। पछि शल्यक्रिया आवश्यक भएपछि सिजेरियन गरिएको हो।
शल्यक्रियापछि निर्मलामा अटोनिक युटेरस अर्थात् पाठेघर आवश्यक रूपमा खुम्चिन नसक्ने अवस्था देखिएको र त्यसका कारण पोस्टपार्टम हेमोरेज (PPH) अर्थात् प्रसूतीपछिको अत्यधिक रक्तस्राव भएको अस्पताल प्रशासनको भनाइ छ।
अस्पतालका अनुसार यस्तो अवस्थामा पाठेघर निकाल्नुपर्ने अवस्था आएको थियो। परिवारलाई निर्णय गर्न केही समय लागेको र निर्णय भएपछि बिरामीलाई स्वास्थ्यकर्मीको साथमा एम्बुलेन्समार्फत छिन्नमस्ता अस्पताल पठाइएको डा. कर्ण बताउँछन्।
उनका अनुसार अस्पतालमा स्त्रीरोग विशेषज्ञ २४ घण्टा उपलब्ध हुन्छन्।
तर अस्पतालसँग आफ्नै ब्लड बैंक र आईसीयू भने छैन। आवश्यक पर्दा बाहिरबाट रगत तथा अन्य सेवा व्यवस्थापन गरिने डा. कर्णको भनाइ छ।
उनका अनुसार निर्मलाको उपचारका क्रममा राजविराजबाट तीन ‘पाउन्ड’ र सिरहाको लहानबाट चार ‘पाउन्ड’ रगत व्यवस्थापन गरिएको थियो। आवश्यक रगत ल्याउन राजविराज वा लहानसम्म जान आउन कम्तीमा करिब डेरदेखी दुई घण्टाको दुरि हो ।
यसरी हेर्दा परिवार र अस्पतालका भनाइमा मुख्यतः बिरामीको अवस्था, सूचना दिने प्रक्रिया, रगत व्यवस्थापन, विशेषज्ञ सेवा र रेफरलको समयबारे फरक विवरण देखिन्छ। त्यसको वास्तविकता उपचारसम्बन्धी अभिलेख र छानबिनबाट स्पष्ट हुनुपर्ने देखिन्छ।
२० दिनअघि अर्की प्रसूती महिलाको पनि मृत्यु
निर्मलाको घटनाभन्दा करिब २० दिनअघि सोही अस्पतालमा अर्की प्रसूती महिला २८ वर्षीया पुष्पा चौधरी, सप्तकोशी नगरपालिका–११ निवासी रामसागर खड्काकी श्रीमतीको पनि मृत्यु भएको परिवार तथा स्थानीयको भनाइ छ।
पुष्पा भदौ १६ गते प्रसूती व्यथाका कारण धर्मेश्वर अस्पताल पुगेकी थिइन्। उनको पनि सिजेरियनमार्फत बच्चा जन्माइएको थियो।
शल्यक्रियापछि पाठेघर खुम्चिन नसक्ने अवस्था देखिएको र थप उपचारका लागि बिराटनगर रेफर गरिएको बताइएको छ। उपचारकै क्रममा उनको मृत्यु भएको परिवार तथा स्थानीय स्रोतको भनाइ छ।
मृत्युपछि आफन्तहरूले अस्पतालमा दबाब दिएपछि कञ्चनपुर इलाका प्रहरी कार्यालयमा छलफल भएको र पीडित परिवारलाई ७ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सहमति भएको भनाइ पनि सार्वजनिक भएको छ।
तर उक्त सहमतिको लिखित कागजात वा प्रहरी अभिलेखबाट औपचारिक पुष्टि हुन बाँकी रहेकाले त्यसलाई अन्तिम तथ्यका रूपमा निष्कर्ष निकाल्नुअघि सम्बन्धित प्रमाण आवश्यक हुनेछ।
यद्यपि करिब २० दिनको अन्तरमा एउटै अस्पतालमा दुई प्रसूती महिलाको मृत्यु भएको घटनाले अस्पतालको प्रसूती सेवा र आकस्मिक उपचार प्रणालीबारे थप प्रश्न उठाएको छ।
सरकारी ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत सेवा
धर्मेश्वर अस्पतालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत शल्यक्रियासहितको सेवा सञ्चालनमा रहेको छ। यो कार्यक्रम कञ्चनरुप नगरपालिकासँगको सम्झौताअनुसार सञ्चालन भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
नगर स्वास्थ्य शाखा प्रमुख रामसेवक यादवका अनुसार नगरपालिकाले २०७८ भदौ २७ गते शल्यक्रियासहितको कार्यक्रम सञ्चालनका लागि परिवार कल्याण महाशाखामा सिफारिस गरेको थियो।
परिवार कल्याण महाशाखा/स्वास्थ्य सेवा विभागबाट २०७९ वैशाख २१ गतेदेखि दुई वर्षका लागि कार्यक्रम स्वीकृत भएको र महाशाखाको निर्देशनअनुसार नगरपालिकाले अस्पतालसँग सम्झौता गरेको स्वास्थ्य शाखाको भनाइ छ।
नगरपालिका र धर्मेश्वर अस्पतालबीच २०७९ जेठ ५ गते सम्झौता भएको थियो।
सम्झौतामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रेनुका शाहले पहिलो पक्षका तर्फबाट हस्ताक्षर गरेकी थिइन्। साक्षीमा रामसेवक यादव, डम्बरप्रसाद गुप्ता र सुरेन्द्रप्रसाद यादव रहेका छन् । अस्पतालका तर्फबाट प्रशासक दिलीपकुमार कर्णले हस्ताक्षर गरेका हुन।
सम्झौता पत्रको दफा ७ मा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि, २०६५ (तेस्रो संशोधन २०७३)’ अनुसार सेवा कार्यान्वयन नगरेमा वा कार्यविधिविपरीत शुल्क लिएमा पहिलो पक्ष ( कञ्चनरुप नगरपालिका )ले सम्झौता रद्द गर्न सक्ने व्यवस्था रहेको स्वास्थ्य शाखाले जनाएको छ।
त्यसैले अहिलेको मुख्य प्रश्न सम्झौता भएको थियो कि थिएन भन्ने मात्र होइन, सम्झौतामा उल्लेख भएका सेवा व्यवहारमा कति प्रभावकारी रूपमा उपलब्ध थिए र नगरपालिकाले त्यसको नियमित अनुगमन कसरी गरिरहेको थियो? भन्ने पनि हो।
२४ घण्टा विशेषज्ञ सेवाको दाबी र व्यवहारबीचको प्रश्न
धर्मेश्वर अस्पताल प्रशासनले स्त्रीरोग विशेषज्ञ २४ घण्टा उपलब्ध हुने दाबी गरेको छ।
तर नगर स्वास्थ्य क्षेत्रका एक जिम्मेवार स्वास्थ्यकर्मीका अनुसार धर्मेश्वर अस्पतालमा कार्यरत भनिएका स्त्रीरोग विशेषज्ञ डा. बसन्त साह नियमित रूपमा २४ घण्टा अस्पतालमा रहने चिकित्सक होइनन्। आवश्यकता पर्दा शल्यक्रियाका लागि उनलाई बोलाउने गरिएको ती स्वास्थ्यकर्मीको भनाइ छ।
डा. साह राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत रहेको बताइएको छ।
असोज २ गते शुक्रबार थियो र उक्त दिन सार्वजनिक बिदा थिएन। त्यसैले डा. साहको त्यस दिनको सरकारी ड्युटी, धर्मेश्वर अस्पतालसँगको सेवा वा करार व्यवस्था, धर्मेश्वरमा उनको उपस्थितिको समय तथा २४ घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने व्यवस्था वास्तवमा के थियो भन्ने विषय अभिलेखबाट स्पष्ट गर्नुपर्ने देखिन्छ।
यसलाई कुनै व्यक्ति वा संस्थामाथि आरोपका रूपमा नभई अस्पतालको २४ घण्टा विशेषज्ञ सेवा सम्बन्धी दाबी र व्यवहारबीचको तथ्य परीक्षण गर्ने विषयका रूपमा हेर्न आवश्यक छ।
सम्झौता र अनुगमनमाथि पनि प्रश्न
अस्पतालका संस्थापक डा. सुबोध पोखरेलकी श्रीमती निरु पोखरेल त्यतिबेला कञ्चनरुप नगरपालिकाकी उपप्रमुख रहेको र उनको कार्यकाल सकिनुभन्दा एक दिनअघि अस्पतालसँग सम्झौता भएको विवरण पनि सार्वजनिक भएको छ।
यो तथ्य मात्रले अनियमितता प्रमाणित गर्दैन। तर सार्वजनिक स्रोतबाट सञ्चालन हुने स्वास्थ्य कार्यक्रमको सम्झौता गर्दा निर्णय प्रक्रिया, स्वार्थ–द्वन्द्वसम्बन्धी सावधानी र सम्बन्धित निर्णयका अभिलेख कस्ता थिए भन्ने प्रश्न भने स्वाभाविक रूपमा उठ्न सक्छ। यसको जवाफ सम्बन्धित कागजातले नै दिनेछ।
त्यसैगरी स्थानीयस्तरमा अस्पताल र सम्बन्धित निकायबीच आर्थिक सम्बन्ध वा प्रभावका कारण प्रभावकारी अनुगमन हुन नसकेको भन्ने चर्चा पनि सुनिन थालेको छ। तर प्रमाणबिना यस्ता दाबीलाई तथ्यका रूपमा स्थापित गर्न मिल्दैन।
त्यसैले कार्यक्रमअन्तर्गतको सम्झौता, भुक्तानी, अनुगमन प्रतिवेदन, अस्पतालको सेवा विवरण र सम्बन्धित प्रशासनिक अभिलेख परीक्षण गर्नु आवश्यक देखिन्छ।
वर्षमा करिब ९० लाख रुपैयाँको कार्यक्रम, आकस्मिक सेवामा कति तयारी?
नगरपालिकाको लेखा शाखाका अनुसार ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’का लागि संघीय सरकारबाट प्रत्येक आर्थिक वर्ष करिब ९० लाख रुपैयाँ आउने गरेको छ।
सार्वजनिक बजेटबाट सञ्चालन भइरहेको यस्तो कार्यक्रमअन्तर्गत प्रसूती सेवा दिने संस्थामा गम्भीर अवस्था उत्पन्न हुँदा आवश्यक विशेषज्ञ उपचार, रगत, शल्यक्रिया, आईसीयू तथा सुरक्षित रेफरलको व्यवस्था कति प्रभावकारी छ भन्ने प्रश्न यस घटनाले अगाडि ल्याएको छ।
अस्पतालसँग आफ्नै ब्लड बैंक र आईसीयू नभएको अस्पताल प्रशासनले स्वीकार गरेको अवस्थामा गम्भीर रक्तस्राव भएकी बिरामीलाई रगतका लागि बाहिर पठाउनुपर्ने र अन्ततः उपचारका लागि अन्य अस्पताल हुँदै बिराटनगर पुर्याउनुपर्ने अवस्थाको चिकित्सकीय तथा व्यवस्थापकीय मूल्याङ्कन आवश्यक देखिन्छ।
अब घटनाले औपचारिक छानबिनको बाटो समातेको छ
निर्मला चौधरीको मृत्युको विषयमा असोज ५ गते जिल्ला प्रशासन कार्यालय, सप्तरीले मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै दुवै घटनाको सत्य–तथ्य छानबिन गर्न आग्रह गरेको छ।
त्यही दिन कञ्चनपुर इलाका प्रहरी कार्यालयमा पीडित पक्ष र अस्पताल पक्षबीच छलफल भएको र असोज ७ गते पुनः बसेर छलफल गर्ने सहमति भएको प्रहरीले जनाएको छ।
सोही सहमतिपछि निर्मलाको शव असोज ५ गते दिउँसो करिब ३ बजे गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा पोस्टमार्टमका लागि पठाइएको हो।
प्रहरीका अनुसार त्यस दिन धर्मेश्वर अस्पतालमा सुरक्षा व्यवस्था पनि गरिएको थियो।
अब पोस्टमार्टम रिपोर्ट, उपचारसम्बन्धी अभिलेख र छानबिनबाट आउने निष्कर्षले घटनाको वास्तविकता बुझ्न महत्वपूर्ण भूमिका खेल्नेछ।
अब छानबिनले यी प्रश्नको जवाफ खोज्नुपर्छ
निर्मलाको मृत्यु चिकित्सकीय जटिलताका कारण भएको हो वा उपचार प्रक्रियामा कुनै कमजोरी थियो भन्ने कुरा अहिले नै निष्कर्षमा पुग्ने विषय होइन।
तर छानबिनले कम्तीमा यी विषय स्पष्ट गर्नुपर्ने देखिन्छ—
पहिलो, अस्पतालमा बिरामी भर्ना भएदेखि शल्यक्रिया, रक्तस्राव, रगतको आवश्यकता र रेफर गर्दासम्मको वास्तविक समयक्रम के थियो?
दोस्रो, रगत आवश्यक परेको अवस्थामा अस्पतालको आफ्नै आकस्मिक रक्त व्यवस्थापन प्रणाली के थियो र परिवारलाई रगत ल्याउन पठाउनुपर्नुको कारण के थियो?
तेस्रो, पाठेघर निकाल्नुपर्ने अवस्था देखिएपछि धर्मेश्वर अस्पतालमा त्यसका लागि आवश्यक चिकित्सक, उपकरण र सेवा उपलब्ध थिए कि थिएनन्?
चौथो, अस्पतालले दाबी गरेअनुसार स्त्रीरोग विशेषज्ञ २४ घण्टा उपलब्ध थिए कि थिएनन्?
पाँचौँ, डा. बसन्त साहको असोज २ गतेको ड्युटी र धर्मेश्वर अस्पतालसँगको सेवा व्यवस्था के थियो?
छैटौँ, निर्मलालाई धर्मेश्वरबाट छिन्नमस्ता र त्यहाँबाट बिराटनगर पठाउँदा समयमै र सुरक्षित रेफरल प्रक्रिया अपनाइएको थियो कि थिएन?
सातौँ, करिब २० दिनअघि पुष्पा चौधरीको मृत्यु भएपछि सम्बन्धित निकायले अस्पतालको प्रसूती सेवा र आकस्मिक उपचार प्रणालीबारे कुनै अनुगमन वा समीक्षा गरेको थियो कि थिएन?
आठौँ, ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’अन्तर्गत नगरपालिकाले सम्झौताअनुसार अस्पतालको सेवा नियमित रूपमा अनुगमन गरेको थियो कि थिएन?
नवौँ, संघीय सरकारबाट आउने करिब ९० लाख रुपैयाँको कार्यक्रम बजेटको खर्च र त्यसबाट उपलब्ध गराइएको सेवाबीच कस्तो सम्बन्ध छ?
र सबैभन्दा महत्वपूर्ण—
पोस्टमार्टम, उपचार अभिलेख र विशेषज्ञ चिकित्सकीय रायले निर्मला चौधरीको मृत्युको वास्तविक कारण के देखाउँछ?
निष्कर्षभन्दा पहिले प्रमाण आवश्यक
निर्मला चौधरीको मृत्युमा परिवारले उपचार प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। अस्पतालले भने अटोनिक युटेरस र त्यसबाट भएको अत्यधिक रक्तस्रावलाई मुख्य चिकित्सकीय जटिलताका रूपमा प्रस्तुत गरेको छ।
दुवै पक्षका भनाइ सार्वजनिक हुनु आवश्यक छ। तर कुनै एक पक्षको भनाइलाई अन्तिम सत्य मानेर निष्कर्ष निकाल्नु अहिले उचित हुँदैन।
पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। छानबिनको निष्कर्ष आउन बाँकी छ। उपचारसम्बन्धी सम्पूर्ण अभिलेख र सम्बन्धित प्रशासनिक कागजातको परीक्षण पनि आवश्यक छ।
त्यसैले अहिलेको अवस्थामा मुख्य विषय कसैलाई दोषी ठहर गर्नु होइन; सरकारी कार्यक्रमअन्तर्गत प्रसूती सेवा सञ्चालन गरिरहेको अस्पतालमा आमाको ज्यान जोगाउन आवश्यक सबै तयारी वास्तवमै थियो कि थिएन, र उपचारको क्रममा स्थापित चिकित्सकीय मापदण्ड तथा सम्झौताका सर्तहरू पालना भए कि भएनन् भन्ने तथ्य पत्ता लगाउनु हो।
करिब २० दिनको अन्तरमा भएका दुई प्रसूती मृत्युले एउटा गम्भीर सार्वजनिक प्रश्न भने अवश्य जन्माएको छ ।
आमा र नवजात शिशुको सुरक्षाका लागि भनेर राज्यले लगानी गरेको कार्यक्रम सञ्चालन भइरहेको अस्पतालमा संकटको क्षणमा आवश्यक रगत, विशेषज्ञ उपचार, आकस्मिक शल्यक्रिया र आईसीयूका लागि बिरामीलाई एकपछि अर्को स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था किन आयो?
यसको जवाफ आरोप–प्रत्यारोपबाट होइन, पोस्टमार्टम, उपचार अभिलेख, विशेषज्ञ चिकित्सकीय राय, सम्झौता, अनुगमन प्रतिवेदन र निष्पक्ष छानबिनबाट आउनुपर्छ।त्यही प्रमाणले मात्र निर्मला चौधरीको मृत्युको वास्तविकता र धर्मेश्वर अस्पतालको उपचार प्रणालीबारे उठेका प्रश्नको यथार्थ जवाफ दिनेछ।


