सप्तरीमा ११६ जना सशस्त्र प्रहरी जवान दीक्षित, आधारभूत तालिम पूरा गरी लिए शपथ


राजकुमार साह
कञ्चनपुर (सप्तरी), असोज २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियास्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा आधारभूत तालिम पूरा गरेका ११६ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन्।
बिहीबार असोज २९ गते आयोजित दीक्षान्त समारोह सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
समारोहमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय, बरमझियाका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशकुमार सुवेदीले दीक्षित जवानहरूलाई शपथग्रहण गराएका थिए।
‘सि.सं. २३९ (ग) सशस्त्र प्रहरी जवान आधारभूत तालिम’ अन्तर्गत सञ्चालित तालिम पूरा गरेपछि ११६ जना जवान दीक्षित भएका हुन्। तालिममा जवानहरूलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुशासनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमका क्रममा हातहतियारसम्बन्धी ज्ञान, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, नक्सा अध्ययन, युद्धकला, प्रतिविद्रोह, मानव अधिकार, लैङ्गिक हिंसा तथा अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा प्रशिक्षण दिइएको थियो। त्यसैगरी, फायरिङ, हातहतियार सञ्चालन, ड्रिल, शारीरिक अभ्यास तथा शारीरिक सहनशीलता अभिवृद्धिसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो।
सशस्त्र प्रहरी बलअन्तर्गतको दन्तकाली विशेष कार्य तालिम शिक्षालयले सुरक्षा चुनौतीको सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुका साथै विपद् व्यवस्थापन, आगलागी नियन्त्रण, पानीमा उद्धार तथा विशेष कार्यसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
दीक्षान्त समारोहमा सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक, नेपाली सेनाका मेजर, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तथा विभिन्न प्रहरी अधिकृतहरूको सहभागिता थियो। सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता र हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्रकुमार माझीको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी, पत्रकार, दीक्षित जवानका परिवारका सदस्य तथा अभिभावकहरूको सहभागिताले समारोहलाई थप महत्त्वपूर्ण बनाएको थियो।
तालिम पूरा गरी दीक्षित भएका जवानहरूले प्राप्त ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रयोग गर्दै नागरिकको सुरक्षा, शान्ति सुरक्षा कायम तथा विपद्का समयमा उद्धार र व्यवस्थापनका कार्यमा जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार