एउटा मालाले हलचल : श्रद्धा तोडियो कि बहसको जाल बिछ्याइयो ?


राजकुमार साह
कञ्चनपुर (सप्तरी ), माघ २७ गते ।बालेन शाहले चुनावी प्रचारका क्रममा आज सप्तरीबाट मधेस यात्रा सुरु गर्दै राजविराज पुगे । राजविराजको मुख्य केन्द्र—पहिले त्रिभुवन चौक र पछिल्लो समय गजेन्द्र नारायण चौक नामले चिनिने स्थान—आज राजनीतिक बहसको केन्द्र बन्यो ।
मधेसका ‘मसिहा’ भनेर चिनिने गजेन्द्र नारायण सिंहको सालिक रहेको सो स्थानमा पुग्दा बालेनसँग रहेको माला उनले आफ्नै समर्थकतर्फ फ्याँके । समर्थकले उक्त माला समाते । यही दृश्यले दिनभरि दुई विपरीत व्याख्या जन्मायो ।
एकथरीले सालिकतर्फ माला नलगाई समर्थकतर्फ फाल्नु गजेन्द्र नारायण सिंहको अपमान भएको दाबी गरे । अर्काथरीले भने सिंहको सम्मानमा कुनै कमी नगरी समर्थकलाई प्रतीकात्मक रूपमा विश्वास र अपनत्व व्यक्त गरिएको तर्क अघि सारे ।
यस घटनापछि स्थानीयदेखि राष्ट्रिय मिडिया, विभिन्न राजनीतिक दलका नेता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू दिनभरि यही विषयमा केन्द्रित देखिए । आलोचना, प्रतिक्रिया र टिप्पणीहरू एकपछि अर्को गर्दै सार्वजनिक भए ।
तर घटनालाई राजनीतिक दृष्टिले हेर्दा, बालेन शाहको शैली यसअघिका गतिविधिसँग मेल खाने देखिन्छ । प्रत्यक्ष भाषण वा आरोपभन्दा प्रतीकमार्फत बहस सिर्जना गर्ने उनको रणनीतिले फेरि पनि विपक्षी दल, मिडिया र नेताहरूलाई एउटै विषयमा अल्झाइदिएको छ ।
एउटै मालाले सप्तरीदेखि केन्द्रसम्मको राजनीतिक विमर्श तताउनु सामान्य संयोग मात्र हो कि सुनियोजित चाल—यो प्रश्न अझै खुला छ । तर यति भने स्पष्ट छ, अब केही दिनसम्म विशेषगरी मधेसकेन्द्रित दलहरूको राजनीतिक एजेन्डामा यो विषय प्रमुख रूपमा रहिरहनेछ ।
अन्ततः निर्णय जनताकै हातमा छ—यो श्रद्धा भंग थियो कि बहसको जाल ?



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार