फागुन २१ : भोट होइन, प्रश्न गरौँ


राजकुमार साह
कञ्चनपुर (सप्तरी ), माघ १० गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिकाअनुसार फागुन ३ गते देखि औपचारिक प्रचार–प्रसार सुरु हुनेछ । यससँगै उमेदवारहरू घरदैलो अभियान, मतदातासँग भेटघाट र सार्वजनिक कार्यक्रममार्फत मत माग्दै नागरिकको दैलोमा पुग्नेछन्।
तर यसपालि निर्वाचनलाई केवल भोट हाल्ने प्रक्रियामा सीमित राख्नु पर्याप्त छैन। मतदाताको भूमिकालाई प्रश्नकर्ता र मूल्याङ्कनकर्ताको तहमा लैजानु समयको माग हो। त्यसैले तपाईंको क्षेत्रमा पुग्ने प्रत्येक उमेदवारलाई अनिवार्य रूपमा सोध्नुपर्ने एउटा प्रश्न छ—
“मेरो मत तपाईंलाई किन?”
पछिल्ला केही निर्वाचनमा मतदाताको मौनताले राजनीति सेवामुखीभन्दा पहुँचकेन्द्रित बनाएको अनुभव व्यापक छ। राजनीतिक जवाफदेहिता कमजोर हुँदा सामाजिक न्याय, सार्वजनिक संस्था र राज्यप्रति नागरिकको भरोसामा छिद्र परेको यथार्थ छ। यही पृष्ठभूमिमा भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा देखिएको जनअसन्तोष र विद्रोहले संस्थागत सुधारको आवश्यकता औँल्याएको थियो। त्यसकै सन्दर्भमा बनेको नागरिक सरकारमार्फत सुधार र परिवर्तनका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित फागुन २१ को निर्वाचन घोषणा गरिएको हो।

मतदाताको आवाज
सप्तरी चुनाव क्षेत्र नं.-१ , अन्तर्गत कञ्चनरुप नगरपालिका वडा – २ कि ज्योति कुमारी भन्छिन्:
“हामीले भोट त हरेक पटक दियौँ, तर पाँच वर्षमा नेताहरूले कति पटक फर्केर हेरे?”
हनुमान नगर कंकालिनि पालिकाका श्याम यादव भन्छन्:
“यसपालि उम्मेदवारसँग सीधा सोधिन्छ— मेरो मत तपाईंलाई किन? भावनाले होइन, कामले मनाउनुपर्छ।”
त्यसैगरी तिरहुत गाउँपालिकाको मतदाता रोहित साह भन्छन्:
“चुनावपछि अनुपस्थित हुनेलाई फेरि भोट दिनु भनेको आफ्नै पीडा दोहोर्‍याउनु हो।”

सामाजिक/विश्लेषक दृष्टिकोण
सामाजिक अभियन्ता पंकज सिंह भन्छन्:
“चुनाव भनेको केवल मत हाल्ने दिन होइन, पाँच वर्षको हिसाब–किताब गर्ने मौका पनि हो।”
अर्को सामाजिक विश्लेषक पिताम्बर कर्ण भन्छन्:
“जब राजनीति पुस्तान्तरणमा मात्र सीमित हुन्छ, त्यहाँ क्षमता होइन, पहुँच निर्णायक बन्छ।”
त्यसैले यसपटक विगतमा चुनाव जितेका र पुनः उम्मेदवार बनेकासँग स्पष्ट हिसाब मागिनुपर्छ—
पाँच वर्षमा तपाईंले गरेका त्यस्ता के काम छन्, जो आज नागरिकले सम्झन लायक मानून्?
पहिलो पटक चुनावी मैदानमा उत्रिएका नयाँ उमेदवारसँग प्रश्न फरक तर स्पष्ट हुनुपर्छ—
तपाईंको सोच के हो, परिवर्तनको खाका के हो, र हामीले तपाईंलाई किन मत दिने?
यदि मतदाताले यसपालि पनि प्रश्न नगरी भोट हाल्ने पुरानै अभ्यास दोहोर्‍याए भने, असफल राजनीतिका लागि दोष केवल उमेदवारको मात्र हुने छैन। मौन मतदाता पनि त्यसको साझेदार हुनेछ। उनले भने परम्परागत राजनीति प्रश्नबाट डराउँछ, किनकि प्रश्नले विगतको हिसाब माग्छ र भविष्यको दिशा तोक्छ।
त्यसैले फागुन २१ को चुनाव कुनै व्यक्ति जित्ने–हार्ने प्रतिस्पर्धा मात्र होइन, जवाफदेही राजनीति स्थापित गर्ने जनमतसंग्रह हो।
यसपालि भोट माग्नेहरूलाई उत्तर दिन बाध्य पारौँ।
नत्र फेरि पाँच वर्षसम्म प्रश्न गर्ने अधिकार गुमाउनेछौँ।
भोट होइन, प्रश्न गरौँ—
यहीँबाट परिवर्तन सुरु हुन्छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार