सप्तकोसीमा रास्वपा नेता–कार्यकर्तासँग कर्णको भेटघाट, कृषिमा ‘आर्थिक ’ सुधारको प्रतिबद्धता
सप्तकोसी ,सप्तरी । सप्तकोसी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ता तथा युवासँग प्रतिनिधि सभा सदस्य खगेन्द्र कर्णले भेटघाट तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गरेका छन्।
कार्यक्रममा बोल्दै सांसद कर्णले सप्तरी–१ सहित जिल्लाभर कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको जानकारी दिए। उनले सिँचाइ प्रणालीलाई आधुनिक र वैज्ञानिक बनाउने, किसानलाई समयमा मल उपलब्ध गराउने तथा कृषि क्षेत्रमा आर्थिक सुधार ल्याउने विषयमा सरकार गम्भीर रहेको बताए।
“निर्वाचन सकिएको छ, तर हाम्रो संघर्ष सकिएको छैन। अबको लडाइँ विकास, अधिकार र सम्मानजनक जीवनका लागि हो,” कर्णले भने, “सप्तरी–१ को आवाज अब मौन बस्दैन, जनताको समस्या अब ओझेलमा पर्दैन।”
उनले आफू संसदमा केवल प्रतिनिधिका रूपमा होइन, जनताको आवाजका रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै जनताको साथ, सुझाव र खबरदारीलाई आफ्नो शक्ति भएको बताए।
नयाँ वर्ष २०८३ को अवसरमा उनले सम्पूर्ण नागरिकमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गर्दै नयाँ वर्षलाई परिवर्तनको वर्षका रूपमा अघि बढाउन आह्वान गरे।


