कञ्चनरुपमा मदरसाको बैंक खाता रोक्का : विद्यार्थी संख्या र खर्चमा अनियमितता आरोप


नगरपालिकामा युवाहरूको संयुक्त निवेदनपछि ‘मुमताजुल उलुम’ मदरसाको खाता रोक्का; खाजा–भत्ता, छात्रवृत्ति र बिल–भर्पाइमा कृतिम दस्तावेजको आरोप

कञ्चनपुर (सप्तरी ) मंसिर ८ गते । कञ्चनरुप नगरपालिका–११, गोरपारमा सञ्चालनमा रहेको मुमताजुल उलुम मदरसा को बैंक खाता नगरपालिका प्रशासनले रोक्का गरेको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सर्वजित कुमार झाले कृषि विकास बैंक लिमिटेड, कञ्चनपुर शाखालाई आइतबार पत्राचार गर्दै “अर्को व्यवस्था नभएसम्म” मदरसाको नाममा सञ्चालित खाता नम्बर ११०३६०१६१९६६४०१७ रोक्का राखिदिन अनुरोध गरेका छन्।

मंसिर ६ गते वडाका युवाहरूले संयुक्त रूपमा दर्ता गराएको निवेदनपछि यो कदम चालिएको हो। मोहम्मद उमर, नजिर, दबुद र अनवरलगायतले नगर प्रमुख ललन प्रसाद गुप्तालाई बुझाएको निवेदनमा मदरसामा भइरहेको भनिएको आर्थिक अनियमितताका विषयहरू प्रष्ट रूपमा उजागर गरिएको थियो। नगर प्रमुख गुप्ताले सो निवेदनलाई प्रशासनिक प्रक्रियाबाट अगाडि बढाउन निर्देशन दिएको र त्यसैअनुसार प्रमुख प्रशासकीय अधिकृत झाले खाता रोक्का गर्न बैंकसँग औपचारिक अनुरोध गरेका हुन्।

निवेदनमा उठाइएका मुख्य अनियमितताहरू :
१. विद्यार्थी संख्यामा हेरफेर : मदरसामा कक्षा १ र २ मा नाम दर्ता गरिएका विद्यार्थी वास्तवमा अर्कै विद्यालयमा कक्षा ५–८ मा पढिरहेको पाइए पनि ती विद्यार्थीकै नाममा मदरसाले रकम निकासा लिइरहेको आरोप।

२. खाजा–भत्ता तथा छात्रवृत्ति दुरुपयोग : विद्यार्थीका लागि विनियोजित खाजा–भत्ता, छात्रवृत्ति र पाठ्य सामग्रीका रकम निकासा भए पनि लाभग्राहीलाई नदिई शिक्षक वा व्यवस्थापनले आफैं प्रयोग गरेको भनाइ।

३. कृतिम बिल–भर्पाइ : विभिन्न भौचर, बिल र भर्पाइहरू कृतिम रूपमा तयार पारी शिक्षा शाखामा पेश गरिँदै आएको आरोप।

नगरपालिकाले निवेदनमा उल्लेख गरिएका बुँदाहरूको प्रारम्भिक परीक्षणपछि खाता रोक्का निर्णय गरेर छानबिन प्रक्रिया अघि बढाएको बताइएको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार