कञ्चनपुर (सप्तरी), कार्तिक २९।‘सक्षम, प्रतिस्पर्धी र उत्कृष्ट सहकारी’ भन्ने मूल नारासहित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ। बरमझिया–२ महादेवपट्टीस्थित सेवा केन्द्रमा आयोजित सभामा सेयर सदस्य, समाजसेवी, कर्मचारी तथा पत्रकारहरूको उपस्थिति उल्लेखनीय थियो।
अध्यक्ष यादव : “कानुनी प्रक्रिया पूरा हुनेबित्तिकै भारदामा थप सेवा सुरु”
सहकारीका अध्यक्ष अनोज यादवले सहकारीको लक्ष्य, आर्थिक अनुशासन र सेवा विस्तारबारे जानकारी दिँदै, कञ्चनरुप नगरपालिकामा दर्ता भएका ६३ सहकारीमध्ये सेवा केन्द्र सञ्चालन गरी नियमित सेवा दिने सहकारीको संख्या न्यून रहेको बताए।
यादवले भने,“कानुनी प्रक्रिया पूरा हुनेबित्तिकै भारदामा थप सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। पारदर्शी र प्रतिस्पर्धी सहकारी बनाउने हाम्रो प्राथमिकता हो।”
आर्थिक प्रतिवेदन, प्रगति र भावी योजना सार्वजनिक
सहकारीका सचिव शोभाकान्त गुप्ताले विगत वर्षको प्रगति, व्यवस्थापन, आय–व्यय तथा आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरे। लेखा समितिका संयोजक ‘शत्रुघन विराजी (यादव)’ले लेखा प्रतिवेदन प्रस्तुत गरे भने सेवा केन्द्र महादेवपट्टीका लेखा संयोजक महेश गुप्ताले केन्द्रको आय–व्यय विवरण सार्वजनिक गरे।
सहकारीका व्यवस्थापक ‘विनोद कुमार कर्ण (दास)’ले लेखापरीक्षणमा आधारित आर्थिक वर्ष २०८१/०८२को मुख्य आर्थिक विवरण प्रस्तुत गरेका थिए।
मुख्य आर्थिक विवरण
शेयर पूँजी : रु ३,३१,१६,५००
साधारण जगेडा कोष : रु २,७०,२२,१०९
कोष हिसाब : रु १,१६,५९,२०३
जम्मा पूँजी तथा दायित्व : रु ५२,८८,१२,१४८
नाफा (लाभ) : रु ६,३३,३२,९७१.९२
शुभकामना मन्तव्य
समाजसेवी खिखर साहले १८ वर्षको संस्थागत यात्रालाई ‘युवावस्थामा प्रवेश’ भन्दै सेवाको विस्तारलाई प्रगतिको सूचक बताए।
त्यस्तै समाजसेवी हेमन्त बहरखेर यादवले संस्थापक, सञ्चालक समिति, कर्मचारी र सेयर सदस्यहरूको समर्पणका कारण सहकारी लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गरे।
समाजसेवी रवाण खान, छेदी यादव र भोला पासवानले पनि सहकारीको सेवा विस्तार, पारदर्शिता र व्यवस्थापनप्रति प्रशंसा व्यक्त गर्दै निरन्तर प्रगतिका लागि शुभकामना दिए।
सञ्चालन समिति
कार्यक्रमको सञ्चालन कृष्णदेव यादवले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सन्जय कुमार खड्काले प्रस्तुत गरेका थिए।


