कञ्चनरुप नगरपालिकाले नियमविपरीत ३५ लाख बढि खर्च गरे मासु भातमा


राजकुमार साह
कञ्चनपुर, असार १ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले एक आर्थिक वर्षमा नियम विपरीत ३५ लाख भन्दा बढी रकमको मासु भातमा खर्च गरेको छ ।

आम सर्वसाधारण नागरिकले मेहनत मजदुरी गरेर आफ्नो आमदानीको स्रोतबाट तिरेको करमा रजाइँ गरिरहेको पालिकाका अधिकारमा बसेका जिम्मेवार पदाअधिकारि तथा अधिकारीहरूले गएको आर्थिक वर्ष २०८०÷८१ मा ३५ लाख ६ हजार ९ सय ५२ रुपैयाँ बराबरको मासु भात , मासु चिउरामा खर्च गरेको हो ।

महालेखापरीक्षकले आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षण गरेको वार्षिक प्रतिवेदन अनुसार कञ्चनरुप नगरपालिकाले विविध खर्च शिर्षकमा ३६ लाख रकम विनियोजन गरेको थियो ।यसै शिर्षकबाट ३५ लाख ६ हजार ९ सय ५२ रुपैयाँको मासु भात, मासु चिउरा लगायत खाजा खाना खाएको विल पालिकाले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाको प्रतिवेदन बमोजिम एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या (दोस्रो परिमार्जन ) २०७४ को २२७११ विविध खर्च शिर्षकबाट वार्षिक कार्यक्रममा स्वीकृत भएका मनोरञ्जन ,प्रदर्शन ,चियापान र भोजहरु सम्बन्धि खर्च,कार्यालय सुरक्षा सम्बन्धि आवश्यक खर्च र अतिथि सत्कार खर्च र अन्य कुनै खर्च शिर्षकमा नपरेका नियमानुसार गर्नुपर्ने विविध खर्च भुक्तानी गर्ने व्यवस्था छ । तर, कञ्चनरुप नगरपालिकाले खर्च संकेतको वर्गीकरणमा उल्लेख भए अनुसार स्वागत कार्यक्रमको चियापान,भोज सम्बन्धि ,सुरक्षा ,प्रतिनिधि मण्डलको स्वागत कार्य भएको पुष्टि हुने प्रमाण कागजात संलग्न नगरी होटल बिलमात्र पेश गरेको छ ।

पालिकाले पेश गरेको बिलबाट मात्र उक्त खर्च पुष्टि नहुने टिप्पणी प्रतिवेदनमा उल्लेख गरिएको छ । खर्चका प्रत्येक बिलमा के कुन कार्यक्रम वा समारोहमा खर्च भएको हो । पुष्टि हुने उपस्थित लगायतका प्रमाण पेश गर्नुपर्दछ । तर पालिकाले उक्त खर्चको औचित्य पुष्टि हुने कुनै प्रमाण पेश गर्न नसकेकोले प्रत्येक खर्चको औचित्य पुष्टि हुने प्रमाण कागजात पेश गरी यस्तो खर्चमा नियन्त्रण तथा मितव्ययिता ल्याउनुपर्ने सुझाव सहितको टिप्पणी महालेखाले गरेका छन ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काका अनुसार गएको आर्थिक वर्षमा आफू प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा नरहेकोले यस बारेमा केही प्रतिक्रिया दिन नसक्ने बताए । यस सन्दर्भमा खबर मार्ग डटकमले थप जानकारीको लागि पालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ता संग पटक पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेन ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार