दन्तकाली विशेष कार्य तालिम शिक्षालयको २४औँ स्थापना दिवस सम्पन्न


कञ्चनपुर (सप्तरी), असोज १० गते। सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सप्तरीको २४औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।

तत्कालीन दन्तकाली गणको स्थापना भएको दिन २०५९ साल असोज १० गतेलाई आधार मानी हरेक वर्ष स्थापना दिवस मनाउँदै आइएको छ। सोही अवसरमा शिक्षालयले आज विशेष कार्यक्रम आयोजना गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, सप्तकोसी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला सुरक्षा समितिका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वय तथा सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

त्यसैगरी, कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले दन्तकाली विशेष कार्य तालिम शिक्षालयलगायत सुरक्षा निकायसँग निरन्तर सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थापना दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। साथै, अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले शिक्षालयले विशेष प्रकृतिका तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आएकोमा प्रशंसा गर्नुभयो।

कार्यक्रमको अन्त्यमा दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशकुमार सुवेदीले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार