मुद्दा लडेको १२ बर्षपछि सप्तरी जिल्ला अदालतबाट पीडितले पाए न्याय


कंचनपुर,साउन १३ गते । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं -३ कंचनदहा बस्ने देबनारायण ठाकुरले मुद्दा लडेको १२ बर्षपछि सप्तरी जिल्ला अदालतबाट न्याय पाएको छ ।
शम्भुनाथ नगरपालिका वडा नं -३ कंचनदहा बस्ने वादी देबनारायण ठाकुरले सोही ठाउँ बस्ने प्रतिवादी राजदेव दाससँग ५ मिटर मुख भएको ७ धुर जग्गा बाटोको लागि किनेका थिए।
प्रतिवादीको जग्गाको पछाडिपट्टि रहेको वादीको जग्गामा निज वादी देबनारायण ठाकुरले आउजाउ गर्नका लागि जग्गा खरिद गरेका थिए।

प्रतिवादी राजदेव दासले वादी देबनारायण ठाकुरको कित्ता नं ५९६ को समुच्चा जग्गा कब्जा गरी अवैध रुपमा पक्की संरचना निर्माण गरी जग्गा अतिक्रमण गरेका थिए। प्रतिवादीको अतिक्रमणले गर्दा वादीको बाटो पूर्ण रुपमा बन्द हुँदा करिब १२ वर्ष अगाडि वादीले बनाएको पक्की घर जीर्ण भएका छन। हाल वादी पोखरीको डिलमा छाप्रो बनाएर बस्न बाध्य भएका छन्।

प्रतिवादीले अदालतलाई गुमराहमा पार्नको लागि निजको जग्गाको उत्तरतर्फको सधियारसँगको मिलेमतोमा सिमाना समेत सारेका थिए। सो अतिक्रमित जग्गाको फैसला कार्यान्वयन गर्न लागि सम्मानित सप्तरी जिल्ला अदालतबाट २०८३ साल असार २३ गते कर्मचारी डोरमा खटाएका थिए। डोरमा खटिएका प्राविधिक सहितको कर्मचारी, सुरक्षा निकाय, वडा कार्यालयको प्रतिनिधि तथा स्थानीय गाउँ समाज, भद्रभलादमीको रोहबरमा सम्मानित सप्तरी जिल्ला अदालतको फैसला तथा चलन हटक आदेश बमोजिम वादीको जग्गामा प्रतिवादीले अवैध रुपमा निर्माण गरेको पक्की संरचना हटाई चलन चलाई दिएको हो। चलन चलाउने क्रममा प्रतिवादीले अवरोध गर्दा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सामान्य बल पनि प्रयोग गर्नु परेको थियो। सुरक्षा निकायको सहयोगमा अदालतबाट फैसला कार्यान्वयन हुँदा स्थानीय बासिन्दा सहित पीडित देबनारायण ठाकुर अदालतबाट करिब १२ वर्षपछि न्याय पाउँदा हर्षित भएका छन्।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार