कञ्चनरुपमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा


१० मापदण्ड र १६ सूचक पूरा गर्दै बरमझिया स्वास्थ्य चौकीले पायो मान्यता
राजकुमार साह
कञ्चनपुर (सप्तरी), साउन ६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझिया स्वास्थ्य चौकीलाई बुधबार ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ। “स्वस्थ आहार, स्वस्थ व्यवहार, पोषणमैत्री सेवा : स्वस्थ समुदायको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा नगरपालिकाभित्र पहिलो पटक उक्त स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्थाको मान्यता प्राप्त गरेको हो।

कञ्चनरुप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ता तथा स्वास्थ्य चौकी प्रमुख वेदानन्द साहले पोषणमैत्री स्वास्थ्य संस्थाको अवधारणा, उद्देश्य, कार्यप्रक्रिया तथा समुदायमा यसको महत्वबारे जानकारी गराएका थिए।
स्वास्थ्य शाखाका सह–संयोजक गुप्ताका अनुसार पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका–२०७९ बमोजिम तोकिएका सबै मापदण्ड र प्रक्रिया पूरा गरेपछि मात्र कुनै स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्न सकिने व्यवस्था छ।

बरमझिया स्वास्थ्य चौकीले आवश्यक मापदण्ड पूरा गर्ने कञ्चनरुप नगरपालिकाको पहिलो स्वास्थ्य संस्था बनेपछि यसलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताए।
उनका अनुसार स्वास्थ्य संस्थाको योग्यता निर्धारणका लागि १० वटा अनिवार्य मापदण्ड र १६ वटा सूचक का आधारमा विस्तृत मूल्यांकन गरिन्छ।
पोषण सेवा गुणस्तर सुधार निर्देशिका–२०७८ अनुसार स्वास्थ्य संस्थामा गठित पोषण सेवा सुधार समितिले आवश्यक मूल्यांकन तथा निर्णय गरेपछि स्थानीय तहको गुणस्तर सुनिश्चितता कार्यसमितिले उक्त विवरण प्रमाणीकरण गरी सम्बन्धित स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय गर्ने व्यवस्था रहेको उनले जानकारी दिए।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थाबाट प्रवाह हुने पोषण सेवाको गुणस्तर अभिवृद्धि गर्नु, गर्भवती, सुत्केरी तथा बालबालिकालाई लक्षित पोषण सेवालाई थप प्रभावकारी बनाउनु, समुदायमा कुपोषण न्यूनीकरण गर्नु तथा सन् २०३० सम्म नेपालले निर्धारण गरेको राष्ट्रिय पोषण लक्ष्य हासिल गर्न स्थानीय तहको योगदानलाई सुदृढ बनाउनु रहेको स्वास्थ्य शाखाले जनाएको छ।

गुप्ताले नगरपालिकाभित्रका अन्य स्वास्थ्य चौकीहरूले पनि आवश्यक मापदण्ड पूरा गर्ने दिशामा निरन्तर काम गरिरहेको जानकारी दिँदै निकट भविष्यमै थप स्वास्थ्य संस्थालाई पनि पोषणमैत्री घोषणा गरिने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह प्रमुख अतिथि तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपप्रमुख मुना कुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर, प्रशासन शाखा प्रमुख नवराज खड्का, लेखा शाखा प्रमुख राजेश राज, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

बरमझिया स्वास्थ्य चौकी कञ्चनरुप नगरपालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था बनेसँगै नगरपालिकाभित्रका अन्य स्वास्थ्य चौकीहरूलाई पनि आवश्यक मापदण्ड पूरा गरी पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। स्वास्थ्य शाखाका अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने अन्य स्वास्थ्य संस्थालाई पनि क्रमशः पोषणमैत्री घोषणा गर्ने तयारी भइरहेको छ।

जान्नैपर्ने : पोषणमैत्री स्वास्थ्य संस्था बन्न पूरा गर्नुपर्ने आधार
पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका–२०७९ अनुसार स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्न १० वटा अनिवार्य मापदण्ड र १६ वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था छ।

१० अनिवार्य मापदण्ड
पोषणसम्बन्धी सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको हुनुपर्ने।
पोषण सेवा सञ्चालनका लागि तालिमप्राप्त जनशक्ति उपलब्ध हुनुपर्ने।
सुरक्षित खानेपानी, सरसफाइ, सफा शौचालय तथा हात धुने सुविधा सुनिश्चित भएको हुनुपर्ने।
बालबालिकाको तौल, उचाइ, लम्बाइ तथा मध्यपाखुराको नाप (MUAC) लिन आवश्यक उपकरण उपलब्ध र सञ्चालनयोग्य हुनुपर्ने।
भिटामिन ‘ए’, आइरन–फोलिक एसिड, जिंक, बालभिटा लगायत आवश्यक पोषण सामग्री पर्याप्त मौज्दात हुनुपर्ने।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको नियमित बैठकमा पोषणसम्बन्धी छलफल भएको हुनुपर्ने।
सेवाग्राहीले देख्ने स्थानमा पोषणसम्बन्धी सूचना तथा सन्देश प्रदर्शन गरिएको हुनुपर्ने।
आवश्यक अभिलेख तथा प्रतिवेदन नियमित रूपमा अद्यावधिक गरिएको हुनुपर्ने।
पोषण सेवा गुणस्तर सुधार निर्देशिका–२०७८ अनुसार गुणस्तर मूल्यांकन गरिएको हुनुपर्ने।
पोषण विशेष कार्यक्रमका सबै सेवा उपलब्ध हुनुका साथै स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गरिएको हुनुपर्ने।

१६ मूल्यांकन सूचक
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न गर्भवती महिलाको नियमित गर्भजाँच, सुत्केरीपछिको स्वास्थ्य परीक्षण, आइरन–फोलिक एसिड सेवन, संस्थागत सुत्केरी, जन्मेको एक घण्टाभित्र स्तनपान सुरु, ६–५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण, नियमित वृद्धि अनुगमन, छ महिनासम्म पूर्ण स्तनपान, समयमै पूरक आहार सुरु, कम तौलका बालबालिकाको अवस्था, कम तौलका शिशुको जन्मदर, पूर्ण खोप, बालभिटा सेवन, पखालाका बेला जिंक तथा जीवनजलको प्रयोग र किशोरीहरूमा आइरन–फोलिक एसिड सेवनलगायत १६ वटा सूचकका आधारमा मूल्यांकन गरिन्छ। प्राप्त नतिजाका आधारमा सम्बन्धित स्वास्थ्य संस्थाको पोषणमैत्री योग्यता निर्धारण हुने व्यवस्था रहेको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार