सूचना माग्दा कञ्चनरुप नगरपालिकामा विवाद : दुवै पक्षबाट प्रहरीमा उजुरी, अनुसन्धान जारी


राजकुमार साह
कञ्चनपुर (सप्तरी), असार २४ । सार्वजनिक निकायबाट सूचना माग्ने विषयलाई लिएर सप्तरीको कञ्चनरुप नगरपालिकामा भएको विवाद कानुनी प्रक्रियामा पुगेको छ। असार २२ गते नगरपालिकाको कार्यालय परिसरमा भएको घटनापछि नगरपालिकाले चार जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दर्ता गराएको छ भने सूचना माग्ने सेवाग्राहीहरूले पनि प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र नगर प्रहरीविरुद्ध कुटपिट, गालीबेइज्जती तथा अभद्र व्यवहार गरेको आरोप लगाउँदै छुट्टै उजुरी दिएका छन्।

दुवै पक्षका उजुरी असार २३ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा परेका छन्। प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान जारी रहेको जनाएको छ।
नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर, सूचना तथा जाहेरी परामर्शकर्ता सहायक रामसुन्दर यादव तथा कार्यालय सहयोगी लक्ष्मण मण्डलले कञ्चनरुप–८ निवासी रतिसुमन गुप्ता (बिटु रौनियार), टुनटुन मण्डल , विनोद पासमान र प्रदीप पासमानविरुद्ध अभद्र व्यवहार कसुर गरेको आरोपसहित जाहेरी दिएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरका अनुसार असार २२ गते अपराह्न करिब ४ बजे ती चार जना नगरपालिकामा पुगेर विभिन्न वडामा सञ्चालित निर्माण आयोजना तथा कार्यक्रमहरूको लागत अनुमान (स्टिमेट), सम्झौता तथा भुक्तानीसम्बन्धी विवरण माग गरेका थिए। आवश्यक सूचना लिखित निवेदनमार्फत माग गर्न तथा आर्थिक वर्षको कार्य सम्पन्न भएपछि कानुनबमोजिम उपलब्ध गराइने जानकारी गराउँदा विवाद उत्पन्न भएको उनको भनाइ छ।

नगरपालिकाले प्रहरीमा दिएको जाहेरीमा त्यसपछि कार्यालय परिसरमा होहल्ला भएको, सम्झाउन पुगेका कर्मचारीमाथि हातपात भएको, नगर प्रहरीमाथि समेत आक्रमण भएको, नगर प्रहरीको पोशाक च्यातिएको तथा ज्यान मार्ने धम्की दिइएको आरोप लगाइएको छ। सोही आधारमा सम्बन्धित व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाहीको माग गरिएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त जाहेरी अभद्र व्यवहार सम्बन्धी कसुरअन्तर्गत दर्ता नम्बर १८३ मा दर्ता भएको छ।

यता, सूचना माग्ने सेवाग्राहीहरूले भने घटनाको जिम्मेवारी नगरपालिकातर्फ रहेको दाबी गरेका छन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर, इन्जिनियर शशिकान्त चौधरी, नगर प्रहरी मनीष कुमार चौधरी, अमरेन्द्र साह, कर्मचारी लक्ष्मण मण्डल तथा रामसुन्दर यादवविरुद्ध कुटपिट, गालीबेइज्जती तथा अभद्र व्यवहार गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ठाडो उजुरी दिएका छन्। उनीहरूको उजुरीअनुसार सार्वजनिक सरोकारका सूचना माग्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको दाबी गरिएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (डीएसपी) राजन रायमाझीले दुवै पक्षबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान जारी रहेको बताए।

“नगरपालिकाको तर्फबाट अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता भएको छ भने सूचना माग्ने पक्षबाट पनि नगरपालिकाविरुद्ध ठाडो उजुरी परेको छ। दुवै पक्षका उजुरीका आधारमा घटनाको सूक्ष्म अनुसन्धान गरिरहेका छौं। अहिले नै कुनै निष्कर्षमा पुगिसकेका छैनौं,” डीएसपी रायमाझीले भने।
यस घटनाले सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने नागरिकको अधिकार, सार्वजनिक निकायको सूचना उपलब्ध गराउने दायित्व तथा सार्वजनिक कार्यालयभित्र सेवाग्राही र कर्मचारीबीचको व्यवहारबारे पुनः बहस सिर्जना गरेको छ। नेपालको संविधानले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको छ भने प्रचलित कानुनले सार्वजनिक निकायलाई कानुनबमोजिम सूचना उपलब्ध गराउने दायित्व तोकेको छ।

घटनामा दुवै पक्षले एकअर्काविरुद्ध गम्भीर आरोप लगाएका छन्। ती आरोपहरूको सत्यता भने इलाका प्रहरी कार्यालय कञ्चनपुरले गरिरहेको अनुसन्धानबाट मात्रै पुष्टि हुनेछ। हालसम्म अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै प्रहरीले उपलब्ध कागजात, सम्बन्धित व्यक्तिहरूको बयान तथा अन्य प्रमाणका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार