उच्च अदालतको आदेशपछि कञ्चनरुप कार्यपालिका बैठक स्थगित, विवाद अझै कायम


इजलास नं. ६, न्यायाधीश अचुतम कुमार आचार्यको एकल इजलासमा मुद्दा नं. ०८२–WO–०४३९ सुनुवाइ, अल्पकालीन अन्तरिम आदेश जारी; पुस ७ गते अन्तरिम आदेश छलफल तोकियो

राजकुमार साह
कञ्चनपुर (सप्तरी ), पुस ३ गते ।
कञ्चनरुप नगरपालिकासँग सम्बन्धित विवादमा उच्च अदालत जनकपुर, राजविराजको इजलास नं. ६ ले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। उपप्रमुख मुनाकुमारी पोखरेलद्वारा दायर उत्प्रेषण रिटमा सुनुवाइपछि अदालतले पुस १ गतेको पत्र बमोजिम बोलाइएको कार्यपालिका बैठक सञ्चालन नगर्नु/नगराउनु भनी विपक्षीका नाममा आदेश दिएको हो।

उक्त मुद्दा मुद्दा नं. ०८२–WO–०४३९ अन्तर्गत दर्ता भएको हो। सुनुवाइ माननीय न्यायाधीश अच्युतम कुमार आचार्यको एकल इजलास मा भएको थियो।

मुद्दामा निवेदकको तर्फबाट अधिवक्ताहरू रमेशबहादुर थापा, श्याम नारायण साह, बलरामप्रसाद सिंह र उमाशंकर देवले बहस गरेका थिए। बहसपछि अदालतले आदेशपत्रमा उल्लेख गरेअनुसार, यस विषयमा के–कसो भएको हो, निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो, तथा मागबमोजिमको आदेश जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए सोसमेत विपक्षीलाई बाटो म्याद बाहेक १५ दिनभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

निवेदक पोखरेलले रिटसँगै अन्तरिम आदेशसमेत माग गरेकी थिइन्। विपक्षी कञ्चनरुप नगरपालिका, कञ्चनपुर (सप्तरी) बाट पनि प्रतिरक्षा पेश गर्न पाउँ भन्ने निवेदन गरेको छ। अदालतले यसलाई विचार गर्दै दुवै पक्षको कुरा सुनी मात्र अन्तरिम आदेश जारी गर्ने/नगर्ने सम्बन्धमा निष्कर्षमा पुग्ने निर्णय गरेको छ।

यसै कारण अदालतले अन्तरिम आदेश छलफलका लागि पुस ७ गते पेशी तोक्ने आदेश दिएको छ र सोको जानकारी विपक्षीहरूलाई दिन निर्देशन गरेको छ। आदेशको समयमा अदालतले उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम कञ्चनरुप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कञ्चनपुरलाई पत्र च.न. (क) २९३, पुस १ गते अनुसारको कार्यपालिका बैठक सञ्चालन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अदालतको आदेशसँगै कञ्चनरुप नगरपालिकामा विवादित विषयमा तत्काल निर्णय लिन रोक लागेको छ। अब पुस ७ गते हुने अन्तरिम आदेश छलफल पछि अदालतले यस मुद्दामा थप दिशा तय गर्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार