कञ्चनरुपको नगरसभा अदालतको पिँजडामा : आदेशको अवहेलना, जलेका कागजात र न्यायको प्रतीक्षामा नगरपालिका


राजकुमार साह
कञ्चनपुर ( सप्तरी), कार्तिक १२ गते ।
कञ्चनरुप नगरपालिकाको नगरसभा हरेक वर्षझैँ यस वर्ष पनि विवादको भुमरीमा फसेको छ।

राजनीतिक सहमति र कानुनी प्रक्रिया बीचको रस्साकस्सीले पालिकाको पारदर्शिता, जनतामाथिको भरोसा र प्रशासनिक विश्वसनीयतामा गम्भीर असर पारिरहेको छ।
यो विवाद केवल राजनीतिक होइन — स्थानीय तहमा कानुनी उत्तरदायित्व कत्तिको कमजोर छ भन्ने साक्ष्य बन्दै गएको छ।

विवादको सुरुवात : कानुनी प्रक्रियाको उल्लङ्घन

गएको आर्थिक वर्ष २०८१/८२ को १०औं नगरसभा बैठकबाट पारित बजेट र योजना संशोधनका लागि ११औं नगरसभा २०८२ जेठ २१ गते बोलाइएको थियो।
तर, उपप्रमुख मुनाकुमारी पोखरेललाई जानकारी नदिई नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले एकल निर्णयमा बजेट संशोधन गरे।
त्यसपछि पोखरेलले न्यायको खोजी गर्दै २०८२ असार ३ गते उच्च अदालत जनकपुरधाम, राजविराज इजलासमा रिट नं. ०८१–WO–१२९१ दायर गरिन्।

अदालतको आदेश र पालिकाको अवहेलना

असार ८ गते उच्च अदालतले ११औं नगरसभाको निर्णय कार्यान्वयन नगर्नु , नगराउनु आदेश दियो।
तर, पालिकाले उक्त आदेश विपरीत चालु आर्थिक वर्ष २०८२/०८३ को लागि असार १० गते पुनः नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्‍यो।
त्यसपछि अदालतले असार १२ गते दोस्रो आदेश जारी गर्दै भन्यो —
“असार १० गते गरिएको १२औं नगरसभाको निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु।”त्यसपछि अदालतले विपक्षी नगरपालिकाबाट तीनवटा सक्कल कागजात माग गर्‍यो —
(१) ११औं र १२औं नगरसभाको सूचना, पत्राचार, उपस्थिती र निर्णय माइन्युट।
(२) राजस्व परामर्श समिति र स्रोत अनुमान समितिको निर्णय माइन्युट।
(३) उपप्रमुख पोखरेलले संयोजक वा उपाध्यक्षको हैसियतमा सम्पादन गरेका कार्य अभिलेख।
तर, असार १९ गतेसम्म पनि यी कागजात अदालतमा बुझाइएन।
कानुनी स्रोतका अनुसार — “अदालतले मागेका अभिलेख नबुझाउनु नै प्रमाण हो कि ,ती कागजात पालिकासँग हराइसकेका वा जानीजानी लुकाइएका छन्।”यसपछि अदालतले अहिले सम्म तारिक दिने मात्र काम गरिरहेको छ, जबकि निर्णयको पेशी तोकिएको छैन।

अवहेलनाको मुद्दा र अदालतमा दबाब

पालिकाले आदेशको पालना नगरेपछि उपप्रमुख पोखरेलले भदौ १८ गते अर्को रिट — नं. ०८१–WO–१३२१ अन्तर्गत अवहेलनाको मुद्दा दायर गरिन्। अदालतले सो निवेदनलाई मुद्दा नं. ०८२–FJ–००१५ का रूपमा दर्ता गर्‍यो। त्यही दिन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, अधिकांश वडा अध्यक्ष र कार्यपालिका सदस्य अदालतमा पुगे र दबाब प्रदर्शन गरे।
तर अदालतले भिड होइन, प्रमाण सुन्ने भन्दै मुद्दालाई कार्तिक २१ गतेका लागि सार्‍यो।
जेनजी आन्दोलनको बहाना र जलेका कागजातको कथा

पालिकाका केही जिम्मेवार अधिकारीहरू भन्छन् — “भदौ २४ गते ‘जेनजी आन्दोलन’मा पालिकाको सम्पूर्ण कागजात जलाइएका कारण अदालतले माग गरेको अभिलेख बुझाउन सकिएको छैन।”
तर तथ्य के छ भने, अदालतले ती कागजात भदौ २३ अघि नै माग गरिसकेको थियो।
यो कारणले “जलेका कागजात” भन्ने पालिकाको दाबी कमजोर बनेको छ। कानुनी विश्लेषकहरूले यसलाई कागजात लुकाउने वा नष्ट गरेको प्रमाणका रूपमा हेरेका छन्।
स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान र कानुनी विश्लेषण
कानुनी तथा राजनीतिक जानकार बिजय बरबरिया (यादव) का अनुसार उपप्रमुखलाई नगरसभाको संयोजन र अध्यक्षता गर्ने अधिकार दिन्छ। त्यसै गरि ऐनको दफा ६५ -६६ -६७ अन्तर्गत तीन समितिहरु ( राजस्व परामर्श , स्रोत अनुमान र बजेट तर्जुमा ) बिना सहभागिता बैठक सञ्चालन गर्नुले ।
“यी दफालाई बेवास्ता गर्दै बजेट पारित गर्नु र अभिलेख नबुझाउनु दुवै कानुनी उल्लङ्घन हुन्,” यादवले भन्छन्।

प्रशासनिक रिक्तता र कामकाज ठप्प
संघीय सरकारले भदौ १२ गते उपसचिव अनुज भण्डारीलाई कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको थियो।
तर, सरुवा भएको दुई महिना बित्दा पनि भण्डारी कार्यालयमा हाजिर भएका छैनन्।
यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का स्वास्थ्य कारण लामो उपचारमा छन्।
एक वरिष्ठ कर्मचारी भन्छन् —
“प्रमुख प्रशासकीय अधिकृत नै नभएका बेला, अदालतको आदेश पालना गर्ने जिम्मेवार को हो भन्ने नै स्पष्ट छैन।”
यसरी प्रशासनिक प्रमुखको अभावले नगरपालिकाको दैनिकी ठप्पजस्तै बनेको छ।
सामाजिक सञ्जालमा चेतावनी : ‘आन्धी आउँदैछ’
स्थानीय तहका जनप्रतिनिधि र नागरिकहरूबीच असन्तुष्टि बढ्दै गएको छ। सामाजिक सञ्जालमा ‘हाम्रो कञ्चनरुप समाजिक पेज’ नामक फेसबुक पेजले हालै लेखेको थियो —
“सावधान! कञ्चनरुप नगरपालिकामा छटपछि ठूलो आन्धी हुरि आउँदैछ। वडादेखि कार्यपालिका सदस्यसम्म अब जिम्मेवारीबाट पन्छिन नपाउने।”
तर, उक्त पोस्ट केही घण्टामै पेजबाट हटाइयो।
स्थानीयहरूका अनुसार त्यो हटाइने काम राजनीतिक दबाबका कारण गरिएको हो।
तीन मुख्य कारण : कानुन, राजनीति र कमिशनको त्रिकोण

(१) कानुनी कारण: स्थानीय सरकार सञ्चालन ऐन ,२०७४ को दफा ६५ दफा ६६–६७ अन्तर्गतको प्रक्रिया बिना सहभागिता बैठक सञ्चालन।
(२) राजनीतिक कारण: मेयर र उपमेयरबीच बजेट बाँडफाँड सम्बन्धि राजनीतिक सहमति हुनु र ती सहमती नमानिँदा आपसी द्वन्द्व ।
(३)आर्थिक कारण: कमिशन र ठेक्का स्वार्थमा आधारित शक्ति सन्तुलनको संघर्ष।
यसरी व्यक्तिगत स्वार्थले कानुनी प्रणालीभन्दा माथि स्थान लिँदा पालिका “न्यायिक र राजनीतिक घेराबन्दी” मा फसेको छ।
वर्तमान स्थिति र सम्भावित निकास

असोज २८ गतेको विवादपछि दीपावली र छैठ पर्वका कारण गतिविधि सुस्त थिए । तर, कार्तिक २१ गतेको अदालत तारिक निर्णायक बन्ने संकेत छ।
विशेषज्ञहरू भन्छन् —

“यदि अदालतले आदेश पालना नगरेको ठहर गर्‍यो भने पालिकाको प्रशासनिक संरचना कानुनी पुनरावलोकनको दायरामा पर्न सक्छ।”
राजनीतिक विश्लेषक स्थानीय पिताम्बर कर्णको टिप्पणी : समाधान कानुनमै छ । कञ्चनरुपको विवादले एउटा गम्भीर प्रश्न खडा गरेको छ । राजनीतिक सहमति कानुनी प्रक्रिया भन्दा माथि हुनसक्छ?
उत्तर छ — हुँदैन।
यदि पालिकाले अदालतको आदेश पालना गर्दै अभिलेख पुनर्संरचना गर्छ भने नगरसभा पुनः सञ्चालन सम्भव छ।
तर, कमिशन र स्वार्थको राजनीति रोकिएन भने कञ्चनरुप अझ गहिरो संकटतिर धकेलिन सक्छ।
समाधानको बाटो स्पष्ट छ — कानुनको पालना, प्रशासनिक पारदर्शिता र उत्तरदायित्वको पुनर्स्थापना।
“कञ्चनरुप नगरपालिकाको प्रतीकात्मक दृश्य — जलेका अभिलेख, अदालतको आदेश, नेतृत्वविहीन प्रशासन र राजनीतिक रस्साकस्सीको घेरामा अड्किएको नगरपालिका।”



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार