कञ्चनरुप विवाद : पत्रकारमाथि दुर्व्यवहार र फर्जी सरकारी दस्तावेजको राजनीतिक खेल


राजकुमार साह
कञ्चनपुर,कार्तिक ४ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा असोज २८ गते पत्रकारमाथि भएको दुर्व्यवहारबाट सुरु भएको विवाद, असोज ३१ गते फर्जी विज्ञप्ति र सरकारी लेटर प्याड दुरुपयोगसम्म पुगेपछि राजनीतिक तरङ्ग चुलिएको छ।
मेयर ललन गुप्ता, मुस्लिम संघ, वडा अध्यक्ष मेहदी हुसेन, र स्थानीय राजनीतिक पात्र भोला पासवान यस विवादका मुख्य केन्द्र बनेका छन्।
पत्रकारमाथि दुर्व्यवहार
पत्रकार अनिष शेखमाथि असोज २८ गते नगर प्रमुख ललन प्रसाद गुप्ताले जातीय–धार्मिक सूचक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए।
घटनापछि स्थानीय पत्रकार समुदायले ठोस प्रतिवाद गर्‍यो। तर ,त्यसपछि यही घटनालाई जातीय, धार्मिक र राजनीतिक कोणबाट मोड्ने रणनीति सुरु भयो।
फर्जी विज्ञप्ति र राजनीतिक रणनीति
‘अवलोकित दैनिक’का प्रकाशक तथा निर्देशक भोला पासवान — जो २०७९ सालको मेयर पदका उम्मेदवार समेत हुन् । उनले उक्त घटनालाई धार्मिक कोणबाट उठाउँदै मेयर गुप्तामाथि राजनीतिक घेराबन्दी सुरु गरे।
दबाबमा परेका मेयरले असोज ३१ गते मुस्लिम संघको नाममा तीनवटा विज्ञप्ति निकालेर आफूलाई निर्दोष सावित गर्न खोजे।
ठीक अर्को विज्ञप्ति वडा नं. २ को सरकारी लेटर प्याडमा तयार पारिएको थियो, जसमा वडा अध्यक्ष मेहदी हुसेनको हस्ताक्षर रहेको थियो।
यी चारै विज्ञप्तिले मेयरलाई निर्दोष र पत्रकारलाई दोषी ठहर्याएको देखिन्छ।
यही क्षणबाट विवाद, पत्रकारमाथिको दुर्व्यवहारबाट फर्जी सरकारी दस्तावेजको मुद्दामा रूपान्तरण भयो।
हुसेन र करिम शेखका बयान
पत्रकार महासंघ शाखा सप्तरीले मेलमिलापको पहल गरिरहँदा, वडाध्यक्ष हुसेनले कार्तिक २ गते जारी गरेको विज्ञप्तिमा भने —
“मैले हस्ताक्षर गरेको छैन, कसैले फर्जी हस्ताक्षर गरेको होला।”
तर ‘खबर मार्ग’ सँगको विशेष कुराकानीमा उनले स्वीकार गरे —
“असोज ३१ गते मेयर गुप्ताको घरमा मैले हस्ताक्षर गरेको हो, तर त्यतिबेला परिस्थितिको दबाब थियो।”
त्यस्तै, मधेस प्रदेश मुस्लिम संघका सह–सचिव करिम शेखले पनि पुष्टि गरे —
“हुसेनले मेरो सामुन्ने, मेयरको घरमै सरकारी लेटर प्याडमा हस्ताक्षर गरेका हुन्। अहिले फर्जी भएको भन्दै पन्छिनु राजनीतिक दबाबको परिणाम हो।”
यी दुवै बयानले देखाउँछन् — विज्ञप्ति निर्माण मेयरको घरमै गरिएको र राजनीतिक योजना अन्तर्गत भएको हो।
पीडित पत्रकार अनिष शेखको भनाइ
पीडित पत्रकार अनिष शेखले ‘खबर मार्ग’सँगको विशेष कुराकानीमा भने —
“मैले सधैं इमान्दारीपूर्वक पत्रकारिता गरेको छु। तर कतिबेला र कसरी राजनीतिक प्रयोगमा परेँ, थाहा पाउन सकिनँ।
अहिले बुझ्दै जाँदा, मलाई पीडितभन्दा बढी राजनीतिक रूपमा प्रयोग गरियो, जसका कारण पूर्ण न्याय पाउन सकिन।”
शेखको भनाइले देखाउँछ — पत्रकारमाथि भएको दुर्व्यवहार र त्यसपछिका घटनाले व्यक्तिगत न्यायभन्दा राजनीतिक फाइदाको खेल ज्यादा देखाएको छ।
कानुनी आयाम
सरकारी लेटर प्याडको दुरुपयोग, फर्जी हस्ताक्षर, र धार्मिक संघ–संस्थाको नाममा गलत सूचना सार्वजनिक गर्नु नेपालको कानुनअनुसार गम्भीर अपराध हो।
संबन्धित कानुनी बुँदाहरू :
राजपत्रित कागजात जालसाजी
आपराधिक दुरुपयोग र मानहानि
धार्मिक वा जातीय तनाव फैलाउने प्रयत्न
यी आधारमा मुद्दा दर्ता भएमा गम्भीर कारबाही र पदीय निलम्बनसम्मको प्रक्रिया अघि बढ्न सक्छ।
राजनीतिक विश्लेषण
राजनीतिक विश्लेषक पिताम्वर
कर्णका अनुसार —
१. पत्रकार अनिष शेखमाथि जातीय सूचक शब्दको प्रयोगले धर्म–राजनीतिक संवेदनशीलता भड्कायो।
२. भोला पासवानले पत्रकार र जातीय कार्डलाई राजनीतिक हतियार बनाए।
३. मेयर गुप्ताले मुस्लिम संघ र सरकारी दस्तावेज प्रयोग गरी आत्मरक्षा गर्न खोजे।
४. हुसेन बीचमा फँसिए र अन्ततः राजनीतिक दबाबमा बयान परिवर्तन गरे।
५. पत्रकार महासंघ शाखाको मौनताले प्रेस स्वतन्त्रतामाथि नै प्रश्न उठाएको छ।
निष्कर्ष : क्षमायाचनाले अपराध मेटिँदैन
मेयर गुप्ताले क्षमायाचना गरे पनि, फर्जी कागजात प्रयोगको कानुनी जिम्मेवारी हट्दैन।
हुसेनको ‘फर्जी हस्ताक्षर’बाट पन्छिने प्रयासले राजनीतिक दबाबको झल्को दिन्छ।
असोज २८ र ३१ का घटनाले देखाएको मुस्लिम कार्डको राजनीतिक प्रयोगले कञ्चनरुपको सामाजिक सद्भावमाथि गम्भीर चोट पुर्‍याएको छ।
नोट:यो रिपोर्ट प्रमाणित बयान, प्रत्यक्ष उद्धरण र दस्तावेजका आधारमा तयार गरिएको हो।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार