कञ्चनरुप (सप्तरी), कार्तिक २ गते । कञ्चनरुप नगरपालिकामा असोज २८ गते अवलोकित दैनिकका संवाददाता अनिष शेखमाथि भएको दुर्व्यवहार प्रकरणमा नगर प्रमुख ललन प्रसाद गुप्ताले दुःख प्रकट गर्दै औपचारिक रूपमा क्षमायाचन गरेका छन् ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय कञ्चनपुरमा भएको छलफलपछि दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । सहमति अनुसार नगर प्रमुख गुप्ताले आगामी दिनमा पत्रकारलाई सुरक्षित वातावरणमा रिपोर्टिङ गर्न दिने, प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने र यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै पत्रकार महासंघका तर्फबाट पत्रकारहरूले पनि आचारसंहिताभित्र रही रिपोर्टिङ गर्ने सहमति व्यक्त गरिएको छ।
सहमति पत्रमा हस्ताक्षर
सहमति पत्रमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव, महासंघ सदस्य किशोर कुमार पासवान र वडा नं. ७ का वडा अध्यक्ष समानन्द चौधरीका तर्फबाट हस्ताक्षर गरिएको छ। अर्को पक्षबाट नगर प्रमुख ललन प्रसाद गुप्ताले हस्ताक्षर गरेका छन्।
घटनाको पृष्ठभूमि
पत्रकार अनिष शेख असोज २८ गते कञ्चनरुप नगरपालिकाको कार्यालय भित्र समाचार संकलनका लागि पुगेका थिए। सो क्रममा नगर प्रमुख गुप्ता, नगर प्रहरी तथा शिक्षक संगठनका सदस्य प्रमोद कटुवालले गालीगलौज गर्दै अभद्र व्यवहार गरेको र पत्रकारको मोबाइलबाट फोटो तथा भिडियो डिलिट गरेको उजुरी नेपाल पत्रकार महासंघ सप्तरी शाखा र इलाका प्रहरी कार्यालयमा परेको थियो।
आज भएको छलफलपछि नगर प्रमुखले आफ्नो व्यवहारका लागि क्षमायाचन गरेका हुन्।


