राजकुमार साह
सप्तरी,असोज ३१ गते । पछिल्लो केही समयदेखि कञ्चनरुप नगरपालिका ठगीको जालोमा फँस्दै आएको छ। राजनीतिक, प्रशासनिक र न्यायिक त्रीपक्षीय द्वन्द्व चर्किँदै जाँदा पालिका गम्भीर संकटमा फस्ने संकेत देखिन थालेका छन्।
आन्तरिक शक्ति संघर्ष, प्रशासनिक कमजोरी र न्यायिक प्रक्रियामा देखिएको ढिलासुस्तीले समस्या थप गहिरिँदै गएको स्थानीयवासीहरूले बताएका छन्। विवाद समाधानभन्दा उल्टो द्वन्द्व चर्किँदै जाँदा पालिकाको कामकारबाही ठप्प हुने अवस्था सिर्जना भएको उनीहरूको दाबी छ।
“हामी नागरिकले कर तिर्छौं, तर पालिकाभित्र ठगी र झगडाले विकासका काम अड्किएका छन्। कसैले समयमै कदम नचाले पालिका नै अस्तव्यस्त हुन्छ,” स्थानीयवासी समाजिक चिन्तक तथा विश्लेषक पिताम्बर कर्णले भने।
अर्का स्थानीयवासी समाजिक अगुवा वडा-५ को उमेश साहका अनुसार, “यो केवल प्रशासनिक समस्या होइन, राजनीतिक र न्यायिक स्वार्थ टकरावले स्थिति थप बिग्रिँदै गएको छ।”
पालिकाको पृष्ठभूमि
कञ्चनरुप नगरपालिका सप्तरी जिल्लाको पुर्वभागमा अवस्थित एक ठूलो पालिका हो। २०७८ को राष्ट्रिय जनगणना अनुसार करिब ५८ हजार ४ सय ६६ जनसंख्या भएको यस पालिकाले कृषि, व्यापार, यातायात र घरेलु उद्योगलाई मुख्य आर्थिक आधार बनाएको छ।
पालिका गठनको सुरुदेखि नै यस क्षेत्रमा राजनीतिक प्रभाव बलियो रहेको मानिन्छ। पछिल्ला वर्षहरूमा आन्तरिक राजनीतिक गुटबन्दी र प्रशासनिक समन्वय अभावका कारण विकासका धेरै योजना अधुरै रहेका छन्। स्थानीयहरूले पारदर्शिता र जवाफदेहिताको माग गर्दै आए पनि पर्याप्त सुनुवाइ नहुँदा असन्तुष्टि बढ्दै गएको छ।
संकट अझ गहिरिने आशंका
हाल देखिएको त्रीपक्षीय द्वन्द्व र ठगी प्रकरण समयमै समाधान नभए पालिकाको वित्तीय तथा प्रशासनिक प्रणाली नै जोखिममा पर्न सक्ने सरोकारवालाको चेतावनी छ। राजनीतिक हस्तक्षेप, कर्मचारीतन्त्रको निष्क्रियता र न्यायिक प्रक्रियाको ढिलाइले समस्या थप जटिल बन्दै गएको उनीहरूको भनाइ छ।
स्थानीय नागरिक समाज र सचेत समूहहरूले तत्काल प्रभावकारी कदम चाल्न र पालिकाभित्र पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन्।


