४३औँ बीपी स्मृति दिवस कञ्चनरुपमा वृक्षारोपण गरेर मनाइयो, नेताहरूले बीपीका विचारलाई आत्मसात् गर्न जोड


कञ्चनरपुर, साउन ६ गते। नेपाली कांग्रेस कञ्चनरुप नगर कार्यसमितिले ४३औँ बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरी राष्ट्रनायक बीपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

कञ्चनरुप–३ स्थित शंकर माध्यमिक विद्यालय, सुव्वाटोलको परिसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न जातका विरुवा रोपिएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नगर तथा प्रदेशस्तरीय नेताहरुको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी प्रदेशसभा क्षेत्र ‘ख’ का सभापति उमेश मिश्रले भने, “बीपी कोइरालाले जुन समाजवादको सपना देखेका थिए, त्यो अझै अपूरो छ। आजको पुस्ताले उहाँका विचारलाई व्यवहारमा उतार्न सक्छ भने त्यो नै सच्चा श्रद्धाञ्जली हुनेछ।”

नगर सभापति कैलास साहले बीपीको स्मृति दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन वृक्षारोपणको माध्यम रोजिएको बताए। उनले भने, “हामीले बीपीको दर्शन र राजनीतिक निष्ठालाई पछ्याउँदै समाजको हकहितमा क्रियाशील हुनुपर्छ।”

कार्यक्रममा सचिव निरञ्जन साह, सह–सचिव बबु चौधरी, नेता मनमोहन साह, उमेश साह, जगतबहादुर कटवाल, विटु गुप्ता, मुना कुमारी पोखरेल, मिना कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो।

बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक सभापति तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए। उनले सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको पक्षमा जीवनभर संघर्ष गरेका थिए। नेपाली कांग्रेसले हरेक वर्ष साउन ६ गते उनलाई स्मरण गर्दै विभिन्न सामाजिक र राजनीतिक कार्यक्रम गर्दै आएको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार