भारतबाट ल्याइएको लागूऔषधसहित दुई जना सप्तरीमा पक्राउ


कञ्चनपुर , असार २३गते।सप्तरीको बलानबिहुल गाउँपालिका–२ मा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू भारतबाट लागूऔषध खरिद गरी नेपाल भित्र्याउँदै गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार असार २२ गते बेलुकी करिब ७:०० बजे सशस्त्र प्रहरी निरीक्षक हरेन्द्र प्रसाद यादवको टोलीले बलान पुल नजिकै चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका–११ बस्ने अन्दाजी २५ वर्षीय लक्ष्मण मलाह र सोही वडाका अन्दाजी २४ वर्षीय राजेश निरोला रहेका छन्। प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथबाट झोलाभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको लागूऔषध फेला परेको जनाएको छ।

बरामद लागूऔषधमा ८६ थान डाइजेपाम इन्जेक्सन, ८६ थान फेनेरागन इन्जेक्सन, ८८ थान ब्युप्रेनोर्फिन इन्जेक्सन र COLORS ब्राण्डको कालो झोला समावेश रहेको प्रहरीले जनाएको छ।

भारतबाट लागूऔषध खरिद गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको र हाल लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्र.ना.उ. जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।

प्रहरीले बरामद लागूऔषध र झोला समेत सार्वजनिक गरेको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार