सप्तरीमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु


कञ्चनपुर , असार १७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा मंगलबार दिउँसो बसको ठक्करबाट  ८ वर्षीय एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार  मंगलबार दिउँसो १:५० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बरमझियाको महादेपट्टिमा रोडकर्स गर्नेबेला बिरगंजबाट विराटनगरतर्फ जाँदै गरेको ना ८ ख १५६२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा सोही नगरपालिका–२ बस्ने ८ वर्षीय आयन शेखको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी बल , स्थानीयवासी र मृतकका आफन्तको सहयोगमा बालकलाई उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएको थियो। तर अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार