सप्तरीमा युवकको हत्या प्रकरण : इनरुवाबाट महिला पक्राउ, चक्कु र मृतकको मोबाइल बरामद


कञ्चनपुर ,असार १३ गते ।सप्तरीको राजगढ गाउँपालिका–४ स्थित लक्का पोखरीको डिलमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार असार १२ गते बिहान करिब ८:१५ बजे अन्दाजी ३२ वर्षीय राजकुमार खङको शव पोखरी छेउमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । मृतक डाकनेश्वरी नगरपालिका–८ बसोबास गर्दै आएका थिए।

घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले डाकनेश्वरी नगरपालिका–९ वस्ने २१ वर्षीया तुलसी देवी सरदारलाई असार १२ गते राति १० बजे सुनसरी जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा इनरुवा नगरपालिका–९ बबियास्थितबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकी सरदारलाई जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको छ।

पक्राउ परेपछि प्रारम्भिक सोधपुछ गर्दा मृतकले प्रयोग गर्दै आएको मोबाइल सेट अभियुक्तको साथबाट फेला परेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। साथै, अभियुक्तले दिएको बयानअनुसार घटनामा प्रयोग गरिएको भनिएको चक्कु समेत घटनास्थल नजिकैको पोखरीमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्त महिला र मृतकबीच चिनजान रहेको र केही विवादपछि घटना घटेको आशंका गरिएको छ। घटनाको थप सत्यतथ्य र पृष्ठभूमि खोतल्न पक्राउ परेकी सरदारलाई कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार