राजकुमार साह
कञ्चनपुर, असार ६। सप्तरीको कञ्चनरुप नगरपालिकामा शिक्षा क्षेत्रका कार्यक्रममार्फत करोडौँ रुपैयाँ अनियमितता भएको खुलेको छ। आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनले नगर नेतृत्वकै संरक्षणमा भएको यो अनियमितता उजागर गरेको छ।
अनुदान, तलब र खाजा खर्चसम्म अनियमितता
प्रतिवेदन अनुसार, विद्यालय सञ्चालनदेखि पाठ्यपुस्तक वितरण, आईसीटी अनुदान, समानिकरण अनुदान र दिवा खाजा कार्यक्रम सम्ममा अनियमितता फैलिएको छ।
विशेष गरी :
- छात्रवृति अनुदानमा ८ लाख ७३ हजार ५ सय रुपैयाँ असुल गर्नुपर्ने
- १५ लाख २५ हजारको विद्यालय व्यवस्थापन खर्चको बिल र कागजात नै पेश नगरिएको
- १३ लाखको आईसीटी शिक्षण सामग्री खर्च भर्पाइ कागजात समेत पेश नगरिएको
- २१ लाख ५० हजार स्वीकृत दरबन्दीबाहेकका शिक्षकलाई तलब भत्ता दिएको
- २३ लाख ७३ हजार १ सय १९ रुपैयाँको पाठ्यपुस्तक वितरण बिल पेश नगरेको लगायत दिवा खाजा कार्यक्रमअन्तर्गत ३३ विद्यालयमध्ये ७ विद्यालयले खाजा नखुवाई रकम हजम गरेको भेटिएको छ। लेखापरीक्षणले ती विद्यालयसँग ६ लाख ८६ हजार ६ सय ८८ रुपैयाँ असुल गरी राजस्वमा दाखिला गर्न सिफारिस गरेको छ।
नगर प्रमुखकै आदेशमा जबर्जस्ती असुली
शिक्षा क्षेत्रमा यति ठूलो अनियमितता खुलेपछि नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काको निर्देशनमा विद्यालयसँग पैसा उठाउने अभियान चलाइएको छ। पालिकाका शिक्षा शाखा प्रमुख प्रेम कुमार चौधरीले भने, “नगर प्रमुख र प्रशासकीय अधिकृतले कडा दबाब दिए पछि म जागिर जोगाउन बाध्य भएर १ लाख ५० हजार संकलन गरी बुझाएँ। यस्तो असुली पालिकामा अहिलेसम्म भएको थिएन।”
विद्यालय प्र.अ.हरूले पनि रकम असुली गरेको दबाब झेलेको भन्दै अब फिर्ता गरिदिन माग गर्दै दबाब दिन थालेका छन्। तर, प्रमुख प्रशासकीय अधिकृत खड्काले आफूले रकम नलिएको दाबी गरेको छ । छानबिन र कारबाहीको माग : शिक्षा क्षेत्रमा खेलवाड नगर्न चेतावनी
सार्वजनिक सरोकारवालाहरूले करोडौँ रकम हिनामिना र नगर नेतृत्वकै संलग्नता रहेको घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
स्थानीयबासीको भनाइ छ : “शिक्षा क्षेत्रको यस्तो लापरवाही र नगर प्रमुखकै संरक्षणमा रकम उठाउने अपराध क्षम्य छैन। तत्काल सम्पूर्ण रकम फिर्ता गराई दोषीलाई कारबाही नगरे कञ्चनरुपका विद्यालय र बालबालिकाको भविष्य अन्धकार हुन्छ।”


