कञ्चनपुर ,असार ४ गते। सप्तरीको शम्भुनाथ नगरपालिकामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार राति करिब ९ः१५ बजेको समयमा शम्भुनाथ नगरपालिका–१ स्थित गोविन्द चोकमा उत्तरबाट दक्षिणतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका–१ रुपनी बजार बस्ने २५ वर्षीय मो. आजद मियाँको मृत्यु भएको छ। शरिरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई तत्काल गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
त्यसैगरी सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय समिर मियाँ घाइते भएका छन्। उनको हात, खुट्टा र टाउकोमा चोट लागेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
दुर्घटनामा संलग्न ट्रयाक्टर चालक सप्तरीको शम्भुनाथ नगरपालिका–१ बस्ने २७ वर्षीय कैलास कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, ट्रयाक्टर र मोटरसाइकल दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय रुपनीको जिम्मामा राखिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
फाईल फोटो


