राजकुमार साह
कञ्चनपुर, असार २ गते। सप्तरीको कञ्चनरुप नगरपालिकाले सोमबार आयोजना गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम औपचारिकतामा मात्र सीमित भएको छ।
नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा उनले चालु आर्थिक वर्षमा ४सय ८७ वटा योजना रहेको, तीमध्ये ५३ प्रतिशतको भुक्तानी भइसकेको र ८५ प्रतिशत योजना अन्तिम चरणमा पुगेको जानकारी दिए। आर्थिक वर्षको अन्त्यसम्म ९५ प्रतिशत योजना सम्पन्न हुने दाबी समेत गुप्ताले गरे।
तर, कार्यक्रम औपचारिकतामै सीमित रहेर अघि बढ्दा चालु आर्थिक वर्षको कुल बजेट कति रहेको, कुन शीर्षकमा कति विनियोजन गरिएको र अहिलेसम्म कति खर्च भएको — यस्ता आधारभूत विवरणहरु भने सार्वजनिक गरिएन। अघिल्लो सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको सम्बोधन भए/नभएको जानकारी समेत नगरपालिकाले दिईएन।
सुनुवाइमा केही सहभागीले जमिनस्तरका समस्या र प्रश्नहरू उठाए। मेयर पदका प्रत्यासी तथा सञ्चारकर्मी भोला पासवान, जसपा नेता रामेश्वर यादव र ‘खबर मार्ग’ का सञ्चारकर्मी लगायतले कार्यक्रमको विधिसम्बन्धी कानुनी र तथ्यगत प्रश्नहरू राख्दा नगर प्रमुख गुप्ता त्यसको सटीक जवाफ दिन नसक्नुका साथै प्रश्नकर्तालाई होच्याउने शैलीमा जवाफ दिने प्रयास गरेको सहभागीहरूले आरोप लगाए।
यही क्रममा जसपा नेता यादवले नगर प्रमुख गुप्तालाई सचेत हुन सुझाव दिएका थिए। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेल उपस्थित रहेनन्। उनले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कुनै समन्वय नगरिएकाले सार्वजनिक सुनुवाइ बहिष्कार गरेको फेसबुक मार्फत जानकारी गराएकी छीन्।
कार्यक्रमको सहजीकरण केही कुरा क्रिएशन प्रा.लि., बुद्धनगर, काठमाडौंले गरेको थियो। ‘खबर मार्ग’ ले यो सार्वजनिक सुनुवाइ कर्मकाण्डी मात्र भएको निष्कर्ष निकालेको छ।


