राजकुमार साह
कञ्चनपुर ,फागुन २२ गते । कञ्चनरुप नगरपालिकाले जनसरोकार संग सम्बन्धित हरेक कार्यपालिका बैठक गरेपनि पहिलो पटक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेका छन् ।
कञ्चनरुप नगरपालिकाले स्थानीय तहमा २०७४ को निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल र २०७९को निर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यकालको तेस्रो आर्थिक वर्ष चलिरहँदा आठ वर्षमा पहिलो पटक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेकाे हाे ।
कञ्चरुप नगरपालिकाको सभाहलमा बुधबार (हिजो) बसेको कार्यपालिका बैठकमा ६ वटा प्रस्ताव पेशहुँदा सबै प्रस्तावको सर्वसहमतिले निर्णय गरेको पालिकाको प्रवक्ता तथा वडा नम्बर -८ का वडा अध्यक्ष कृष्णप्रसाद साहले जानकारी दिए । उनले भने, पहिलो प्रस्ताव अनुसार पालिका भरिमा रहेका मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका क्यानसर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुको औषधी उपचार खर्च उपलब्ध गराउन तत्काल पालिकाको संचित कोषबाट दिने र पछि संघीय सरकारबाट सोघभर्ना हुनेगरी भुक्तानी लिने प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ताले बताए ।
दोस्रो प्रस्ताव अनुसार सुन्दरी र पौडा खोलाबाट ढुङ्गा ,गिटी ,बालुवा र ग्राभेल संकलन तथा बिक्रि कार्यकोलागी दोस्रो पटक ३० दिने सूचना आव्हान गर्ने सन्दर्भमा निर्णय गरेका छन् । यसैगरी स्वास्थ्य क्षेत्रमा सुधारको लागि अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि राष्ट्रिय योजना आयोग संग ३ करोड रकम माँग गर्ने । कृषि क्षेत्रको लागि: कृषि सामग्री, कृषि औजार उपकरण ,वाली संरक्षण सेवा तर्फ ५० प्रतिशत र कृषि चुन तर्फ ७५ प्रतिशत कृषि पुर्वधार तर्फ ८५ प्रतिशत अनुदान दिने निर्णय गरेको उनले बताए ।
नेपाल मुस्लिम संघ ,जिल्ला कार्यसमिति सप्तरीलाई आधिवेशनको लागि १५ हजार आर्थिक सहयोग उपलब्ध गराउने र वडा -१ को इदगहमा रंगराेगन गराई दिने निर्णय गरेको बताउदै प्रवक्ताले भने यी सबै निर्णय कार्यनयन गर्नको लागि प्रमुख प्रशासकीय अधिकृतलाई निर्देश दिने निर्णय समेत गरेको जानकारी दिए ।
खबर मार्गले प्रवक्ता साह संग पालिकाले कार्यपालिकाको बैठकको निर्णय पहिलो पटक सार्वजनिक किन गरेको ? उनले भने, कार्यपालिकाको बैठक भनेको स्थानीय मन्त्रीपरिषदको निर्णय सरह भएको हुनाले बैठकको निर्णय के कसो भयो । सो निर्णय को जानकारी बारे बुझन पालिका भरिको आम नागरिकको अधिकार हो भने, जानकारी दिने पालिकाको उत्तरदायित्व हो ।
आम जनसमुदाय र अनेक पेशाकर्मिले बारमबार कार्यपालिका बैठकको निर्णय बारे जिज्ञासा् राखिरहेको हुनाले कार्यपालिका बैठकको सबै निर्णय अबदेखि जानकारी गराउने उनले बताए ।


