राजकुमार साह
कञ्चनपुर ,माघ २८ गते । राजनीतिक आडमा आफ्नो निजि स्वार्थ पुर्ती गर्नको लागि फर्जी कार्यमा महारत रहेका सप्तरीको कञ्चनरुप नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ता र बहालबाला प्रशासकीय अधिकृत नवराज खड्काको मिलोमतोमा आर्थिक तथा प्रशासनिक कार्यहरु फर्जी रुपमा भैरहेको तथ्य खुलासा भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को सातौ महिना चलिरहदा सम्ममा पालिकाको मेयर ललन प्रसाद गुप्ताको प्रत्यक्ष संलग्नतामा नवराज खड्काको अधिकृत स्तर आठौं तह चार पटक बढुवा भएको तथ्य समेत बाहिरिएको छ भने , गएको साउन १६ गतेदेखि फर्जी रुपमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेको छ ।
पहिलो फर्जी कार्य : पालिकाको मेयर ,उपमेयर ,१२ वटा वडाध्यक्ष र ८ वटा कार्यपालिका सदस्य गरि कुल २२ वटा कार्यपालिका सदस्य रहेकोमा । उप-प्रमुख मुना कुमारी पोखरेल र वडा नम्बर -२ का वडाध्यक्ष महेदी हुसेन बाहेक २० जना कार्यपालिका सदस्यले माघ १० गते कार्यपालिकाको बैठकै नबसी। मेयर ललन प्रसाद गुप्ताको नेतृत्वमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटेको खड्का , योजना शाखाका ईन्जिनियर शशी चौधरी , स्वास्थ्य शाखाका सह-इन्चार्ज डम्बर प्रसाद गुप्ता र खानेपानी शाखाका कर्मचारी असोक केसि सहितको टोलीले बेलुकि ७ बजेदेखि राती ११:३० बजे सम्म केहि कार्यपालिकाको घरमा ,केहिलाई बाटो घाटोमा र किर्या काजको घरमा रहेका सदस्य सङ सो टोलिले फर्जी कार्य गरेको एक जना वडा अध्यक्षले जानकारी दिए ।

जसमा माघ ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाइएको थियो । तर, खड्काले समेत १० गतेको निर्णयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गरेर फर्जी कार्य गरेको प्रमाणित गरेको छ ।
नगरपालिकाको स्रोतले दिएको जानकारी अनुसार माघ १० गते कार्यपालिका बैठकको कुनै कार्यक्रम थिएन । निमित्त प्रशासकीय अधिकृत खड्काको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद भएको कारणले पुनः अनुमोदन गर्नको लागि उक्त राती त्यो काम भएको जानकारी तिनले दिए । फर्जी कार्यपालिका बैठकको प्रस्तावमा अधिकृत खड्कालाई ज्येष्ठ कर्मचारीको सिफारिस गरि पठाउने ।
स्रोतले भने उक्त प्रस्तावको निर्णयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , अन्तर्गतका स्थानीय तह कर्मचारी प्रशासन शाखा को पत्र संख्या २०८१/०८२ च.नं.१२६९ र माघ ९ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत गरेको छ भने, निर्णय सम्बन्धमा निजामती सेवा नियमावली ,२०५० को नियम ४६ मा रहेको व्यवस्था बमोजिम यस कञ्चनरुप नगरपालिका नगर कार्यपालिकाको कार्यालय कञ्चनपुर ,सप्तरीमा हाल कार्यरत कर्मचारीहरु मध्ये ज्येष्ठ कर्मचारी ( प्रशासन सेवा, सामान्य प्रशासन समुह , अधिकृत स्तर आठौं ) का नवराज खड्का रहेको उल्लेख गरिएको छ ।
खड्काको कार्य सम्पादन अतिउत्तम रहेको हुँदा निजलाई नै आर्थिक तथा प्रशासनिक अधिकार सहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकि दिनु हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको ती स्रोतले जानकारी दिए । जवकी आसोज २२ गते आठौं तहमा स्तरवृद्धिसम्बन्धि गरेको निर्णय अनुसार खड्का निजामती सेवाका कर्मचारी नभएर स्थानीय सेवाको कर्मचारी रहेकाे थियाे ।
दोस्रो फर्जी कार्य: माघ ९ गते खड्काको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद भए पछि पुनः उक्त जिम्मेवारीमा फर्काउनको लागि १० गते गरेका फर्जी निर्णयलाई छलेर मेयर गुप्ता र अधिकृत खड्का माघ ७ गतेको मिति राखेर अर्को फर्जी निर्णय गरि संघीय सरकारलाई पत्र पठाएको थियाे । पालिकाको अर्को स्रोतले दिएको जानकारी अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका स्थानीय तह कर्मचारी प्रशासन शाखाले माघ १३ गते आर्थिक तथा प्रशासनिक जिम्मेवारीमा पुनः खड्कालाई दिइएकाे छ । ती स्रोतले भने जिम्मेवारी दिइएको पत्रमा उल्लेख अनुसार कञ्चनरुप कार्यालयको च.नं. १२३६ माघ ७ को पत्रबाट लेखी आए बमोजिम कञ्चनरुप कार्यालयमा कार्यरत कर्मचारीहरुमध्ये वरिष्ठ कर्मचारी नवराज खड्का ( प्रशासन सेवा, सामान्य प्रशासन समूह , अधिकृत आठौं) लाई स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि कार्यलयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि जिम्मेवारी दिइएको हो ।
यसबाट प्रष्ट हुन्छ यदि पालिकाले माघ ७ गते संघीय मन्त्रालयलाई पत्राचार गरेको थियो भने , ९ गते मन्त्रालयले खड्कालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट किन हटाइएको ? र, माघ १० गते पुनः फर्जी कार्यपालिका बैठक किन गर्नु परेको थियो ?
तेस्रो फर्जी कार्य: स्थानीय सेवा ( गठन तथा सञ्चालन ) ऐन,२०८१ को परिच्छेद -२ को दफा ४ को उपदफा ६ र उफदफा ७ बमोजिम काम काज गर्ने गरि देहाय बमोजिमको नवराज खड्काको आठौं तहमा स्तरवृद्धिको निर्णय असोज २२ गते गरिएको रहेछ । उक्त निर्णय पत्रमा फर्जी कर्मचारी संकेत नम्बर राखेको छ भने आफैले आफैलाई हस्ताक्षर गरेर खड्काले बधाई लिएको छ ।

चौथो फर्जी कार्य: चालु आर्थिक वर्ष २०८१/०८२को लागि पालिकाले साउन १६ गते गरेको १० औं नगरसभा सम्बन्धि । पालिकाको दशौ नगर सभा हुँदाखेरी प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह रहेकाे थियो । तर ,कञ्चनरुपले दशौं नगर सभाबाट पारित गरेको बजेट बुकमा साउन १६ गतेदेखि फर्जी कार्य गरेर प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का अधिकृत स्तर आठौ उल्लेख गरिएको छ । माथि उल्लेखित फर्जी कार्य गरेको बारेमा खबर मार्गले पालिकाको प्रवक्ता तथा वडा -८ का वडाध्यक्ष कृष्ण प्रसाद साह सँग सम्पर्क गर्दा उनले भने, माघ ९ गते संघीय मन्त्रालयले सातौं तहका प्रशासकीय अधिकृत खड्काको आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाइएपछि फर्जी तरिकाले कार्यपालिकाको बैठक १० गते बसेर खड्का पालिकाको वरिष्ठ कर्मचारी र आठौं तहको अधिकृत कर्मचारी रहेको निर्णय भएको सत्य हो । तर, माघ ७ गतेको मिति राखेर संघीय मामिला मन्त्रालय लाई पत्रचार गरेको जानकारी नरहेको प्रवक्ताले बताए ।
आठौं तहको अधिकृतमा र पालिकाको वरिष्ठ कर्मचारी कायम गर्नको लागि कार्यपालिकाले के -के आधार तथा मापदण्ड अपनाउनु भयो ? उनले भने , त्यस्तो किसिमको कुनै प्रक्रिया तथा मापदण्ड अपनाएको थिएन । सातौं तहका अधिकृत नवराज खड्का २०७८ को कार्तिक ११ गतेदेखी २०८१ को भदौ ३० गते सम्म प्रशासन शाखा प्रमुख थियो भने, २०८१को साउन १६ गते आठौं तह सहित प्रमुख प्रशासकीय अधिकृत कसरी भयो? जबकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ९ गते गरेको निर्णय अनुसार निमित्त अधिकृत खड्का सातौं तहको कर्मचारी रहेको हो? भने भदौ ३१ गते मात्र खड्काले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको थियो ? साथै उनको कुनै कर्मचारी नम्बर समेत नरहेको उल्लेख गरिएको छ ? पालिकामा यत्रो फर्जी कार्यहरू भैरहदा तपाईको भुमिका के छ? प्रवक्ताले भने , यति सम्म फर्जी कार्य भएको सन्दर्भमा आफुलाई जानकारी नरहेको बताए ।


