तारेख गुज्रिएको आधारमा अदालतले मूल विषयमा प्रवेश गरेन
राजकुमार साह
कञ्चनपुर ( सप्तरी ), पुस ३० गते । कञ्चनरुप नगरपालिकाको ११औँ र १२औँ नगरसभा, अदालतको आदेश अवहेलना तथा विधायन समितिका निर्णयसँग सम्बन्धित गरी दायर गरिएका आठवटा रिट मुद्दाको सुनुवाइ आज उच्च अदालत जनकपुर, राजविराज इजलासमा हुन सकेन।
माननीय न्यायाधीश सुभाष पौडेल र सुशील कोइरालाको संयुक्त बेन्चको इजलास नं. १ मा मुद्दाहरू पेश भए पनि निवेदकतर्फबाट तारेख गुज्रिएको अवस्था देखिएकाले अदालतले मूल विषयमा प्रवेश नगरी सुनुवाइ स्थगित गरेको हो।
यी रिट निवेदनहरू कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले दायर गरेकी हुन्। उनले नगरपालिकाको विधायन समितिले पुस ३ गतेदेखि पुस ११ गतेसम्म गरेको निर्णय प्रक्रिया गैरकानुनी रहेको र ती निर्णयले उपप्रमुखको अधिकार खोस्ने प्रयास गरेको दाबी गरेकी छन्।
मुद्दामा कञ्चनरुप नगर कार्यपालिकाको कार्यालय, नगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा विधायन समिति विपक्षी रहेका छन्। साथै, अवहेलना मुद्दा नं. ०८२–FJ–००४४ सम्बन्धमा नगरपालिकाले “त्रुटी संशोधन गरि पाउँ” भनी मंसिर ४ गते उच्च अदालत जनकपुर, राजविराज इजलासमा दायर गरेको निवेदन पनि यसै विवादसँग सम्बन्धित छ।
अदालतको आदेश
अदालतले मुद्दा नं. ०८१–WO–१३२१ (उत्प्रेषण, निषेधाज्ञायुक्त परमादेश) सम्बन्धी आदेश पत्रमा उल्लेख गरेअनुसार, निवेदक उपप्रमुख मुना कुमारी पोखरेलले पुस १६ गतेदेखि तारेख गुजारेको तथा थाम्ने/थमाउने म्यादसमेत बाँकी रहेको देखिएकाले आज पेश भएका आठवटै रिट मुद्दामा सुनुवाइ हुन नसकेको स्पष्ट गरेको छ।
संयुक्त बेन्चले निवेदकले तारेख थामे/थमाएपछि वा तोकिएको अवधि समाप्त भएपछि लगाउका अन्य मुद्दासमेत एकसाथ राखी नियमानुसार पुनः पेश गर्न आदेश दिएको छ। अगामी पेशी माघ १४ गतेको तोकेको छ ।


