कञ्चनपुर (सप्तरी ) फागुन ४ गते । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा जनमत पार्टीभित्र देखिएको सामूहिक राजीनामाको घटनाले सप्तरी क्षेत्र नम्बर १ को राजनीतिक वातावरणलाई तरंगित बनाएको छ।
निर्वाचन तयारी तीव्र भइरहेका बेला केही अगुवा कार्यकर्ता तथा स्थानीय तहका सक्रिय नेताहरूले पार्टीको साधारण सदस्यता र जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा वंशवाद, नातावाद तथा निर्णय प्रक्रियामा अपारदर्शिताको आरोप लगाइएको छ। इमान्दार र संघर्षशील कार्यकर्तालाई उपेक्षा गरिएको तथा संगठन सीमित व्यक्तिको प्रभावमा चलेको दाबी राजीनामा दिने पक्षको छ। उनीहरूले यस्तो अवस्थालाई अन्याय र असमानताको संकेतका रूपमा व्याख्या गर्दै सामूहिक बहिर्गमनलाई ‘आवश्यक निर्णय’ बताएका छन्।
निर्वाचनको ठीक पूर्वसन्ध्यामा यस्ता अगुवा तहका कार्यकर्ताको बाहिर्गमनले संगठनात्मक सन्तुलनमा प्रभाव पार्ने आँकलन स्वाभाविक देखिन्छ। विशेषतः प्रतिस्पर्धात्मक मानिने सप्तरी–१ मा चुनाव जित्न उम्मेदवारको व्यक्तिगत छवि मात्र पर्याप्त हुँदैन; बलियो संगठन, जुझारु कार्यकर्ता सञ्जाल र निरन्तर मतदाता सम्पर्क नै निर्णायक आधार बन्छ।
यही सन्दर्भमा प्रश्न उठ्छ—
के यो घटना सीमित असन्तुष्ट समूहको कदम मात्र हो, वा संगठनभित्र गहिरिँदो संरचनात्मक समस्याको संकेत ?
के नेतृत्वले संवादमार्फत असन्तुष्टिलाई समेट्न सक्ला, वा यसको असर सीधै चुनावी परिणाममा देखिनेछ ?
उठाइएका आरोपबारे पार्टीको आधिकारिक धारणा आउन बाँकी छ। तर चुनावको मुखमै देखिएको यो घटनाक्रमले जनमत पार्टीको उम्मेदवारमाथि मनोवैज्ञानिक र संगठनात्मक दुवै दबाब सिर्जना गरेको विश्लेषण गर्न थालिएको छ।
अब नजर फागुन २१ को मतपरिणामतर्फ छ— यो बहिर्गमन क्षणिक राजनीतिक तरंग सावित हुन्छ कि निर्वाचन परिणाममा प्रभाव पार्ने निर्णायक कारक, त्यसको उत्तर मतदाताले दिनेछन्।


