माघ २७ गतेदेखि सप्तरी हुँदै मधेसमा बालेनको चुनावी यात्रा: मतदातासँग प्रत्यक्ष भेट र संवादको तयारी


कञ्चनपुर (सप्तरी ), माघ २६ गते ।काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले माघ २७ गतेदेखि सप्तरीबाट सुरु गर्दै मधेस केन्द्रित चुनावी यात्रा गर्ने भएका छन्। बालेनको कोर टिमका सदस्य तथा समानुपातिक उम्मेदवार समेत रहेका खगेन्द्र कर्णका अनुसार यो यात्रा औपचारिक भाषण र मञ्चभन्दा बाहिर निस्केर जनतासँग प्रत्यक्ष भेट, संवाद र अनुभूति साट्ने उद्देश्यसहित तय गरिएको हो।

मधेसका बजार, चोक, चिया पसल र टोल–टोलमा बालेनलाई प्रत्यक्ष देख्न र भेट्न चाहनेहरूको उत्साह पहिले नै देखिन थालेको छ। सामाजिक सञ्जालमा मात्र सीमित चर्चा नभएर, “बालेन कहिले आउँछन्?” भन्ने जिज्ञासा मधेसका विभिन्न ठाउँमा तीव्रता पाउँदै गएको टिमले जनाएको छ।

यो यात्रा कुनै एक समुदाय वा समूहको लागि नभई मधेसमा बसोबास गर्ने सबै जातजाति, वर्ग र पुस्तासँग जोडिने प्रयास का रूपमा अघि बढाइएको बताइन्छ। परम्परागत राजनीति, भाषण र आश्वासनबाट थाकेका मतदाताले बालेनलाई फरक शैलीको नेतृत्वकर्ता का रूपमा हेर्दै आएका कारण भेटघाटप्रतिको आकर्षण अझै बढेको देखिएको छ।

सप्तरीबाट सुरु हुने यस यात्रामा बालेनले जनताका प्रश्न सुन्ने, गुनासा बुझ्ने र खुला संवाद गर्ने कार्यक्रम राख्नेछन्। टिमका अनुसार यो अभियान “भोट माग्ने” भन्दा पनि विश्वास बनाउने, सुन्ने र जनतासँग जोडिने यात्रा हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका बालेनको मधेस यात्रा स्थापित राजनीति बाहिरको नयाँ वैकल्पिक आवाज को प्रतीक बन्ने देखिन्छ। राजधानी मात्र होइन, मधेसको सडक, चौक र टोलहरूमा प्रत्यक्ष जनउपस्थिति र उत्साहले बालेनप्रतिको लोकप्रियता र विश्वास कति गहिरो छ भन्ने स्पष्ट पार्नेछ।

यो यात्रा मधेसको मतदाता र बालेनबीचको सम्बन्धको वास्तविक परीक्षा बन्ने निश्चित छ, जहाँ परिवर्तन चाहने वर्ग र युवा मतदाताले प्रत्यक्ष संवादमार्फत आफ्नो आवाज सुनाउन पाउनेछन्।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार