राजकुमार साह
कञ्चनपुर (सप्तरी ), माघ १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन औपचारिक रूपमा सप्तरी जिल्ला क्षेत्र नं. १ सँग जोडिएको भए पनि यसको सन्देश स्थानीय सीमाभन्दा बाहिर देशव्यापी राजनीतिक संस्कार, नैतिकता र जनउत्तरदायित्वसँग गाँसिएको देखिन्छ। यो चुनाव केवल उम्मेदवारबीचको प्रतिस्पर्धा होइन, पुराना विकृति जोगाउने कि नयाँ राजनीतिक अभ्यासतर्फ अघि बढ्ने भन्ने गम्भीर प्रश्न बनेर उभिएको छ।
स्थानीय राजनीतिक कर्मी र समाजसेवीहरूका अनुसार यो निर्वाचन परम्परावादी तथा यथास्थितिवादी राजनीतिक धारहरू र परिवर्तन, जवाफदेहिता तथा नयाँ सोच बोकेका राजनीतिक शक्तिबीचको सीधा टकराव हो। परिवर्तन चाहने मतदाता र पुरानै प्रणालीमा अड्किन चाहने मतदाताबीचको दूरी यसपटक झनै स्पष्ट हुँदै गएको उनीहरूको विश्लेषण छ।
राजनीतिमा नेपो–बेबी र परिवारवादलाई निरन्तरता दिने प्रयास यस निर्वाचनको अर्को गम्भीर बहस बनेको छ। समाजसेवी दीपक श्रेष्ठ भन्छन्, “राजनीति सीमित परिवारको उत्तराधिकारी बन्ने कि आम नागरिकको साझा प्लेटफर्म बन्ने भन्ने प्रश्न यस चुनावले उठाएको छ, जुन कुनै एक क्षेत्रको मात्र होइन, समग्र देशकै सरोकारको विषय हो।”
त्यसैगरी, पार्टी जेसुकै भए पनि पैसाको बलमा संगठन प्रभावमा पार्ने र चुनावी परिणाम प्रभावित गर्ने पुरानो अभ्यास फेरि दोहोरिन खोजिएको आरोप लागिरहेको छ। २०७९ को निर्वाचनमा देखिएको ‘पैसा बनाम विचार’को टकराव यसपटक पनि पुनः देखिन सक्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। केही जेन–जी युवा मतदातालाई आर्थिक प्रलोभनमा पार्ने प्रयास सुरु भइसकेको दाबीसमेत गरिएको छ।
राजनीतिक कर्मी पिताम्बर कर्णका अनुसार यो चुनाव भ्रष्टाचार र कुशासनलाई अझै संस्थागत गर्ने प्रवृत्ति र त्यसको अन्त्य गर्दै पारदर्शी, प्रणालीमुखी र जनउत्तरदायी शासन स्थापना गर्ने चाहनाबीचको संघर्ष हो। सेवा प्रवाह व्यक्ति–केन्द्रित रहने कि नियम, प्रक्रिया र सार्वजनिक निगरानीमा आधारित बन्ने भन्ने प्रश्न पनि यसैसँग गाँसिएको छ।
“अन्ततः यो चुनाव कसैको व्यक्तिगत जित–हारभन्दा पनि समाज र लोकतन्त्रको भविष्यसँग जोडिएको निर्णय हो,” कञ्चनरुप नगरपालिका -८ का स्थानीय राजनीतिक विश्लेषक खिकर प्रसाद साह भन्छन्। उनका अनुसार सचेत नागरिक, समाजका अगुवा र विशेषतः युवा पुस्ताको विवेकपूर्ण छनोटले सप्तरी–१ को मात्र होइन, देशभरको राजनीतिक संस्कारको दिशा तय गर्नेछ।


