सप्तरी–१ मा आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई २४ घण्टे अल्टिमेटम, नहटाए कारबाही


राजकुमार साह
कञ्चनपुर (सप्तरी), माघ १५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सप्तरी निर्वाचन क्षेत्र नं. १ मा आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन कार्यालयले २४ घण्टे अल्टिमेटम दिएको छ।

बिहीबार निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुर, सप्तरीमा निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत जानकी रमण यादवको अध्यक्षतामा बसेको आचारसंहिता पालनासम्बन्धी बैठकमा यस क्षेत्रका उम्मेदवारहरू, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
बैठकले निर्वाचन आयोग, नेपालबाट स्वीकृत तथा जारी गरिएको निर्वाचन आचारसंहिता २०८२ को कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सञ्चारकर्मी तथा सरोकारवालाहरूबाट प्राप्त गुनासोलाई मध्यनजर गर्दै निर्वाचन क्षेत्र नं. १ भित्र आचारसंहिता विपरीत टाँसिएका पर्चा, पोस्टर, पम्पलेट, भित्ते लेखन, तुल, ब्यानर, फ्लेक्स लगायतका प्रचार सामग्री सम्बन्धित राजनीतिक दल वा उम्मेदवारहरूले स्वयं हटाउने सहमति गरिएको छ।
यस्तै, सवारी साधनमा आचारसंहिता विपरीत पोस्टर, पम्पलेट, तुल, ब्यानर लगायतका सामग्री राखिएको वा टाँसिएको पाइएमा सुरक्षा निकायले निगरानी गरी हटाउन लगाउने निर्णय गरिएको छ। निर्वाचन कार्यालयले यस्ता सामग्री हटाउन २४ घण्टाको समय दिएको छ, र भोलि शुक्रबारसम्म नहटाए सम्बन्धित उम्मेदवार तथा दलमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

निर्णय कार्यान्वयनका लागि उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूले लिखित सहमति जनाएका छन्।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार