पाथीभरा पूजापाठ ‘अनुचित’ भनिएको बस्नेतको टिप्पणीले उठायो मधेसमा सांस्कृतिक बहस


कञ्चनपुर (सप्तरी ), माघ ९ गते ।नेकपा एमालेका सचिव महेश बस्नेतले झापा–५ बाट रास्वपाका उम्मेदवार बालेन शाहले पाथीभरा मन्दिर पुगेर पूजापाठ गर्नु ‘अनुचित’ भएको सार्वजनिक टिप्पणी गरेपछि धार्मिक संस्कार, सांस्कृतिक विविधता र चुनावी नैतिकताको विषयमा तीव्र बहस सुरु भएको छ।
शुक्रबार बिहान शाहले पाथीभरामा पूजा–आराधना गरेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहलाई पितृशोक परेको उल्लेख गरे। उनले हिन्दु धर्मअनुसार शोक परेको अवस्थामा करिब एक वर्षसम्म देवदर्शन, पूजा–पाठ तथा ठूला धार्मिक कर्म निषेध हुने दाबी गर्दै यस्तो गतिविधि संस्कारविपरीत रहेको तर्क प्रस्तुत गरे। आस्था व्यक्तिगत विषय भए पनि धर्मलाई चुनावी प्रचारको माध्यम बनाउनु नैतिक रूपमा गलत हुने उनको भनाइ थियो।
तर बस्नेतको यो टिप्पणीलाई एकांगी र सांस्कृतिक दृष्टिले अपर्याप्त बुझाइमा आधारित भन्दै आलोचना सुरु भएको छ। विशेषतः मधेस क्षेत्रको आफ्नै सांस्कृतिक परम्परा र धार्मिक अभ्यासलाई बेवास्ता गरिएको आरोप लागेको छ। मधेसी समुदायमा पितृशोक वा मातृशोकका आवश्यक कर्मकाण्ड सम्पन्न भएपछि घरमै देवपूजा गर्ने र त्यसपछि मठ–मन्दिरमा पूजा–पाठ गर्ने चलन प्रचलित छ। परिवारमा शोक परेको एक वर्षसम्म कुनै पनि धार्मिक कर्म नगर्ने परम्परा सबै हिन्दु समुदायमा समान रूपमा लागू हुने नियम होइन, यो मुख्यतः पहाडी समुदायमा बढी प्रचलित सामाजिक अभ्यास मानिन्छ।
सांस्कृतिक विविधता रहेको नेपाली समाजमा एउटै समुदायको परम्परालाई ‘हिन्दु धर्मको सार्वभौमिक नियम’का रूपमा प्रस्तुत गर्नु गलत सन्देश जाने भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा असन्तोष व्यक्त भइरहेको छ। आलोचकहरूले एमाले सचिव बस्नेतजस्ता जिम्मेवार नेताबाट धार्मिक संस्कारबारे टिप्पणी गर्दा क्षेत्रीय र सांस्कृतिक भिन्नताको सम्मान अपेक्षित हुने बताएका छन्।
धर्म, संस्कृति र आस्थाजस्ता संवेदनशील विषयलाई चुनावी बहससँग जोड्दा समाजमा अनावश्यक विभाजन र गलत व्याख्या बढ्ने खतरा रहेको उल्लेख गर्दै, मधेसी संस्कृतिमाथि हल्का टिप्पणी वा मजाक उडाउने शैली उपयुक्त नदेखिएको प्रतिक्रिया आएका छन्। यस घटनाले चुनावी प्रतिस्पर्धामा धार्मिक आस्था प्रयोग गर्ने सीमा र राजनीतिक नेतृत्वको सांस्कृतिक समझदारीमाथि गम्भीर प्रश्न उठाएको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार