चुनाव चिन्हदेखि ब्यानरसम्म उठ्यो सन्देशको प्रश्न : महिला बोझा, पारिवारिक अनुहार र ‘नेपो–राजनीति’ को संकेत ?


राजकुमार साह
कञ्चनपुर ( सप्तरी ), माघ ९ गते । आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको एक उम्मेदवारको चुनाव चिन्ह र प्रचार–प्रसार सामग्रीले सामाजिक सन्देश, लैंगिक संवेदनशीलता र राजनीतिक अभ्यासबारे बहसलाई तीव्र बनाएको छ। महिलाको टाउकोमा बोझा बोकेको चित्र समेटिएको चुनाव चिन्हलाई कतिपयले श्रम र मेहनतको सम्मानका रूपमा व्याख्या गरे पनि, यसले महिलालाई अझै पनि भारी बोक्ने भूमिकासँग मात्र जोड्ने सन्देश दिन सक्ने भन्दै आलोचना पनि भइरहेको छ।

यससँगै उम्मेदवारको प्रचार ब्यानरले थप चासो र प्रश्न जन्माएको छ। सप्तरी निर्वाचन क्षेत्र -१ का ब्यानरमा तीन जनाको फोटो राखिएको देखिन्छ, जसमा २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी (जसपा) पार्टीबाट कञ्चनरुप नगरपालिको प्रत्याशी उम्मेदवार, त्यही पार्टीबाट उम्मेदवारका बुवा समेत रहेका पूर्व केन्द्रीय मन्त्री र स्वयं हालका अहिले उम्मेदवारको फोटो समावेश छन्। तर प्रायः उम्मेदवारहरूले आफ्नो फोटोसँगै पार्टी अध्यक्ष वा शीर्ष नेतृत्वको फोटो राख्ने प्रचलन रहँदै आएकोमा, उक्त ब्यानरमा पार्टी अध्यक्षको फोटो नराखिनुलाई लिएर समेत राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
विश्लेषकहरूका अनुसार प्रचार सामग्रीमा पार्टी नेतृत्वभन्दा पारिवारिक राजनीतिक अनुहारको प्रमुख उपस्थितिले संस्थागत राजनीति भन्दा व्यक्तिगत वा पारिवारिक निरन्तरताको सन्देश दिन सक्ने जोखिम रहन्छ। यही कारण, यस प्रकारको प्रस्तुतीकरणलाई भदौ २३ र २४ मा देखिएको Gen Z पुस्ताको असन्तोष र ‘नाताले होइन, क्षमताले नेतृत्व’ भन्ने मागसँग जोडेर हेर्नेहरू पनि छन्।
चुनाव चिन्ह र प्रचार सामग्री मतदातासम्म पुग्ने पहिलो सन्देशका माध्यम हुने भएकाले, तिनमा प्रयोग गरिने प्रतीक, तस्वीर र प्रस्तुतीकरणले सामाजिक चेतना, लैंगिक दृष्टिकोण र राजनीतिक संस्कृतिमाथि प्रभाव पार्ने विज्ञहरूको भनाइ छ। यही सन्दर्भमा उक्त चुनावी प्रस्तुतीकरणले राजनीतिक सन्देश र जिम्मेवारीबारे पुनः बहसको ढोका खोलेको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार